आमाछोदिङ्मोलाई ‘ख’ वर्गको एम्बुलेन्स

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १५:२३

धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाले एक अत्याधुनिक सुविधासम्पन्न ‘ख’ वर्गमा वर्गीकरण भएको एम्बुलेन्स प्राप्त गरेको छ ।
गत बुधबार काठमाडौंमा एक कार्यक्रमबीच जर्मन राजदूतावास र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा आमाछोदिङ्मो गाउँपालिकालाई अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

आपत्कालीन अवस्थामा बिरामीलाई चाहिने सबै उपचार उपकारण जडान भएको एम्बुलेन्स काठमाडौंमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई साँचो हस्तान्तरण गरेका हुन् । ‘ख’ वर्गमा वर्गीकरण भएको एम्बुलेन्स डेढ करोड मूल्यबराबरको पर्ने पालिका अध्यक्ष तामाङले जानकारी दिए । नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापना गर्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने अभियानको सुरुवातस्वरूप आमाछोदिङ्मो गाउँपालिकाको सेवा सञ्चालन निर्देशिका बनाई छिट्टै जनताको सेवामा ल्याउने पालिका अध्यक्ष तामाङले जानकारी दिए । छिट्टै नै पालिकाले अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । एम्बुलेन्समा सम्पूर्ण उपचार गर्ने प्रविधि रहनुका साथै नर्सलगायतका स्वास्थ्यकर्मी उपलब्ध हुनेछन् । यस किसिमको एम्बुलेन्स सञ्चालनमा आउँदा बिरामीको मृत्युदर घट्ने पालिकाले अपेक्षा गरेको छ ।