अस्पतालमा शववाहन छ, चालक छैन

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १३:११
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, बागमती प्रदेश सरकारले दुई वर्षअघि धादिङका जिल्ला अस्पताललाई शववाहन दिए पनि हालसम्म अस्पतालले चालकको व्यवस्था गर्न नसक्दा सहज शववाहनको सुविधा लिन जिल्लावासीले सकेका छैनन् ।

अस्पतालसँग शववाहन छ, तर चालक छैन । शववाहनचालकको व्यवस्था नहुँदा खेतालो चालकको व्यवस्था गरेर मात्र प्रयोगमा ल्याइने गरिएको छ । शववाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा अन्य गाडीका चालक खोजेर मृतकका परिवारले आक्कल–झुक्कल सेवा लिने गरेका छन् । शववाहनचालक नियुक्त गर्न नसक्दा अन्य गाडीका चालक खोजेर शववाहन चलाउनुपर्ने बाध्यतामा मृतकका आफन्त छन् । आत्महत्या गरेका नीलकण्ठ नगरपालिका-११ का ५६ वर्षीय रामकृष्ण शाक्यको शव चालकको अभावमा गत सोमबार दिउँसो पौने १ बजे मात्रै मृतकका आफन्तलाई नै चालक बनाएर धादिङ अस्पताल ल्याइयो । गत आइतबार बेलुका नै शव परीक्षणका लागि अस्पताल ल्याउन शववाहन लगिएको स्थानीय शाक्यले बताए । धादिङ अस्पतालसँग शववाहन माग्दा चालक छैन भनेपछि आफैँ चालक बनेर ल्याउन बाध्य भएको उनले बताए । मृतकका आफन्तले नै चालक खोजेर शववाहन चलाउनुपरेको यो एउटा उदाहरण मात्रै हो । जब शव बोक्नुपर्ने हुन्छ अनि चालकको खोजी हुने गरेका घटना थुप्रै छन् । दुई वर्षदेखि कहिले अस्पतालकै एम्बुलेन्सचालकले त कहिले मेडिकल सुपरिटेन्डेन्ट चढ्ने गाडीका चालकले नै शववाहन चलाउने गरेका छन् । एम्बुलेन्सचालक र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का चालक पनि अनेक बहानामा शववाहन चलाउन आनाकानी गरेको मृतकका आफन्त बताउँछन् । मृतकका आफन्तले शववाहन माग गर्दा अस्पताल प्रशासनले अनेक निहुँ बनाएर टार्ने गरेको छ । ज्यामरुङका गणेश शाक्यका अनुसार चालक नभएपछि बहाना बनाउनु जिल्ला अस्पताल धादिङका कर्मचारीको बाध्यता नै बनिसकेको छ ।

बागमती प्रदेश सरकारले शववाहन दिएको दुई वर्ष भए पनि अहिलेसम्म शववाहनचालक नियुक्त गर्न अस्पतालले सकेको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालका अनुसार डेढ महिनाअघिदेखि शववाहनचालकको आवश्यकताको सूचना गरेकोमा आठजनाले दरखास्त दिए पनि व्यवस्थापन समिति सक्रिय नबन्दा पदपूर्ति हुन सकेको छैन । अस्पतालको शववाहन अन्य चालकले चलाएर शव अस्पतालसम्म ल्याएकाबारे आफूलाई जानकारी नभएको मेसु दाहाल बताउँछन् । प्रदेश सरकारले शववाहन दिए पनि चालकको व्यवस्था नगरिदिँदा समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला बताउँछन् । चालक अभावले शववाहन नचलेको, खोतालाबाट चलाउन परेकाबारे धमलाले आफूलाई थाहा नभएको बताए । जिल्ला अस्पताल धादिङमा दुईजना चालकको दरबन्दी रहेको छ ।