प्रहरी उपरीक्षक पण्डितको स्वागत

  • त्रिशूली प्रवाह
  • २ भाद्र २०७९, बिहीबार १४:२७

विदुर, नुवाकोटको प्रहरी प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक रमेश पण्डितको नेपाल पूर्वप्रहरी जिल्ला कार्यसमिति नुवाकोटले स्वागत गरेको

गत हप्ता काज सरुवा भई आएका प्रहरी उपरीक्षक र पूर्वप्रहरीबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पूर्वप्रहरी सङ्गठन नुवाकोटका अध्यक्ष होमबहादुर तामाङसहितका पदाधिकारीले परिचयात्मक कार्यक्रममा जिल्लाबारे जानकारी दिँदै पूर्वप्रहरी सङ्गठनका गतिविधिबारे जानकारी गराएका थिए । प्रहरी उपरीक्षक पण्डितले कार्यरतपछि पूर्व हुनु यो निरन्तर प्रक्रिया रहेको बताउँदै अन्य कर्मचारीभन्दा प्रहरीमा अलि विशेष कार्य सम्पादन गर्नुपर्ने भएको हँुदा समाजमा बढी महत्व हुने गरेकाले निवृत्तिभरणपूर्व प्रहरी सामाजिक क्षेत्रमा असल कार्य गर्न सुझाव दिँदै समय-समयमा पूर्वप्रहरीसँगै बसी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिँदै जाने प्रहरी उपरीक्षक पण्डितले बताए । उनले कानुनविपरीतका काम हुन नदिने बताए । जिल्लाका पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पण्डितले कानुनविपरीतका काम गर्ने जोकोही भए पनि दण्डित हुने र कानुन कार्यान्वयनका सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने प्रस्ट पारे । कानुन कार्यान्वयनमा सबैसँग हातेमालो गर्ने, तर कानुनविपरीतका कार्यमा संलग्नलाई कसैको दबाबमा छुटकारा नपाउने उल्लेख गरे । उनले शान्तिसुरक्षाको अवस्था सुदृढ बनाउनु र कानुन कार्यान्वयन गर्नु प्रहरीको कर्तव्य भएकाले प्रहरीलाई नागरिकको भरोसायोग्य सङ्गठन बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुनेसमेत बताए ।

प्रहरी प्रमुख पण्डितले नुवाकोटमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन हुने गरेको गुनासा आएको बताउँदै त्यस्ता क्रियाकलापको पूर्ण नियन्त्रणका लागि प्रहरीको प्रभावकारी परिचालन गरिएको उल्लेख गरे । अवैध क्रियाकलापबारे सूचना प्राप्त हुनासाथ प्रहरी पुग्ने अवस्था रहेको र प्रहरीलाई प्रभावमा राखेर गलत काम गर्छु भन्ने कुनै गुञ्जायस नरहेकोसमेत प्रहरी प्रमुख पण्डितले स्पष्ट पारे । प्रहरी प्रमुख पण्डितले जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्था सुदृढ बनाउन सरोकारवाला सबै पक्षसँग निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिबद्धतासमेत पत्रकार भेटघाटमा व्यक्त गरे ।