कोभिडको फेरि त्रास !

  • त्रिशूली प्रवाह
  • २ भाद्र २०७९, बिहीबार १५:५८

विश्वमा कोभिडको चौथो लहर फैलिइसकेको छ । हाम्रो छिमेकी मुलुक भारत र चीनमा एकै दिन कोभिड सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । मृत्युदर पनि उच्च भएको समाचार आइरहेको छ । यो हाम्रोजस्तो खुला सिमाना भएको मुलुकका लागि खतराको सङ्केत पनि हो । यसर्थ भारतसँग सीमा जोडिएका जिल्लामा आवत-जावतमा सतर्कता अपानाउनु अति जरुरी भइसकेको छ । उत्तरी छिमेकी चीनले भने सीमानाकालाई थप कडा गरिसकेको छ । सङ्घीय र प्रदेश सभाको निर्वाचन तथा चाडपर्व नजिकिँदै गर्दा भिडभाड र जमघट बढ्न थालेको छ । स्वास्थ्यका मापदण्ड नअपनाई हुने जमघट र भेलाले कोरोना बढाउन थप मद्दत पुगेको छ ।

कोभिड सङ्क्रमितदर उच्च भएकाले चीनको उहान सहरमा त केही दिन अघिदेखि लकडाउन भइसकेको छ । हिजोआज बजारमा जहाँतहीँ भिड बढिरहेको छ । यस्तो भिडभाड देख्दा मानिसमा कोरोनाको डर हराइसकेझैँ लाग्छ । मानिसले घरबाहिर निस्कँदा मास्क लगाउन छोडिसकेका छन् । अझ भनौँ भने मास्क लगाउने बानी नै छुटिसकेझैँ लाग्छ । मानिस खुलेआम मास्क नलगाई निर्धक्कसँग भिडभाडमा निस्किसकेका छन् । सायद उनीहरूले विगतमा कोभिडको भयावह स्थिति बिर्सिसकेजस्तै लाग्छ । नेपालमा पनि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ । साथै केही दिनदेखि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या फाट्टफुट्ट बढिरहेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्न सक्नेछ । मानिसले कोरोनाविरुद्धको खोप लगाएकाले होलान् भने पनि सबैले खोपको पूर्ण मात्रा तथा बुस्टर डोज लगाइसकेका छन् भनेर विश्वस्त हुन सक्ने स्थिति पनि छैन । फेरि खोप लगायौँ भन्दैमा सबै सुरक्षित छन् भनेर ढुक्क हुन पनि सकिन्न । भिडभाडमा कुनै कोभिडद्वारा सङ्क्रमित व्यक्ति भए अरूलाई पनि सर्ने सम्भावना हुन्छ । यस्तै भए यसले पुनः छिट्टै विकराल रूप नलेला भन्न सकिन्न । हामी सबैले उच्च सतर्कता अपनाई आफू र आफ्नो परिवारलाई सुरक्षित राखौँ ।

नेपालमा पहिलोपटक ९ माघ ०७६ मा सङ्क्रमण पुष्टि भएको थियो । दोस्रो सङ्क्रमित १० चैतमा देखियो । दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी गरिएको थियो । पछिल्ला केही सातादेखि कोरोना सङ्क्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना सार्वजनिक गरेको छ । मन्त्रालयमा दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भए पनि निर्णय भने गरिसकेको छैन । कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । पछिल्लो समय अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढिरहेको र सङ्क्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोज अपरिहार्य बनेको छ । पछिल्लो एक महिनाको अवधिमा कोरोना सङ्क्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्याङ्क हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको थियो । खोप नलगाएकोमा गम्भीर सङ्क्रमण देखिएकोसमेत पाइएको छ । यी सबै विषयलाई दृष्टिगत गर्दै मन्त्रालयले खोपलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट सुरु भएको महामारीको तेस्रो लहर नेपालमा आएपछि बुस्टर डोज अभियान सुरु भएको थियो ।