महिला जनप्रतिनिधिलाई सम्मान

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार ११:१५

विदुर, नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला (अनेम) सङ्घ नुवाकोटले शनिबार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित ४६ जना महिला जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा तिजको दर खाने र नाचगान कार्यक्रमसमेत भएको थियो ।

सङ्घले पालिकास्तर प्रशिक्षण तथा विस्तारित बैठक सम्पन्न गरिरहेको छ । ६ वटा पालिकामा प्रशिक्षण र विस्तारित बैठक सम्पन्न गरी विभिन्न विभाग गठनसमेत भइसकेको अनेमसङ्घ नुवाकोटकी अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् । सङ्घले गत साउन १८ र १९ गते जिल्लास्तरीय प्रशिक्षण र विस्तारित बैठक गरी १२ वटै पालिकामा बृहत् प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो । अनेमसङ्घ बागमती प्रदेश कमिटिकी अध्यक्ष एवम् नेकपा एमालेको पोलिटब्युरो सदस्य सुशीला नेपालको आतिथ्यतामा र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाको विशेष आतिथ्यतामा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न भएको थियो । जिल्लाको विदुर नगरपालिका, लिखु, किस्पाङ, म्यागङ, शिवपुरी गाउँपालिकामा प्रशिक्षण र विस्तारित बैठक सम्पन्न भइसकेको छ । भदौ २५ गतेभित्र १२ वटै पालिका र ८८ वडामा प्रशिक्षण गरी नयाँ सदस्यतासमेत प्रदान गर्ने कार्यक्रम अनेमसङ्घले तय गरेको छ । सङ्घले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि महिला उम्मेदवार उठाउनेबारेमा समेत बृहत् छलफल गरिरहेको छ । सङ्घले शनिबार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नुवाकोटबाट एमालेको तर्फबाट निर्वाचित ४६ जना महिला जनप्रतिनिधिलाई सम्मान गरेको थियो । नेकपा एमालेको केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा दर खाने र नाचगान गरेर तिजको शुभकामना आदान–प्रदान गरिएको थियो ।