शाक्यको तीन दशकदेखिको तेल मिल

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार ११:३५
  • सुनील श्रेष्ठ

त्रिशूलीबजार, विगत ३० वर्षदेखि निरन्तर रूपमा त्रिशूलीमा तोरी पेल्ने मिलको रूपमा स्थापित करुणामय तोरी मिल विदुर नगरपालिका-१ त्रिशूली त्रिवेणी चोकमा रहेको छ । तत्कालीन प्रधानपञ्चबाट करिब ८५ हजारमा ६ भोल्ट क्षमता भएको मिल किनी सुरु गरिएको परिवारिक व्यवसाय आज पनि सञ्चालनमै रहेको छ ।

बुबा रत्नवीर शाक्यले चलाउँदै आएका तोरी पेल्ने मिल कान्छा छोरा योगेन्द्रवीर शाक्यले ०४९ सालदेखि परिवारको साथ र सहयोगमा चलाउँदै आएका छन् । उक्त मिलमा योगेन्द्रवीरले एक लाख ५० हजारमा अर्को पनि उत्तिकै क्षमताको मेसिन थपेका थिए । उनी नुवाकोट जिल्लामा पहिलोपटक आधुनिक धान कुट्ने मिल भित्र्याएको दाबी गर्छन् । हात्तीगौँडामा केही समय धान मिल सञ्चालन गरेपछि बुबाले चलाउँदै आएको तोरी मिल चलाएका थिए । ‘तोरी मिल चलाउँदा त्यो समय त्रिशूलीमा मात्र चारवटा मिल थिए । अहिले आफू मात्र छु । मिलमा काम गर्न गाह्रो हुने भएकाले अरू उद्योग नै छाडी अन्य व्यवसायतिर लागेका छन् । उसबेला दिनरात पनि मिल चल्थ्यो । लोडसेडिङ पनि धेरै हुन्थ्यो । ट्र्याक्टरको इन्जिनलाई प्रयोग गरी बिजुली गएको समयमा पनि मिल चलाउन आफैँले नै उपकरण बनाएको थिएँ,’ उनले केही हदसम्म इन्जिनियरसरह काम गर्ने क्षमता रहेको अनुभव सुनाए । २०५१ सालताका दसैँ, तिहारको समयमा सात दिनसम्म मेसिन बन्द नै नगरीकन तोरी पेलेको पनि अनुभव सुनाए । ‘जिल्लाको विदुर, ढुङ्गे, देउराली, बगुवा, देउडी, साल्मे, भाल्चेलगायतका स्थानबाट ग्राहकले तोरी पेल्न ल्याउने गर्थे । अहिले पनि आइरहेका छन् । प्रायः ग्राहकले आफ्ना खेतबारीमा फलेको तोरी ल्याउँछन् । मिलमा पेलेको तोरीको तेल शुद्ध र स्वास्थ्यबद्र्धक हुन्छ । तोरी सुक्खा हुने गरी पेली तेल निकाल्ने भएकाले आफ्ना पुराना ग्राहक अझै पनि तोरी पेल्न मिलमा आउँछन् । मेसिन ठूलो भएकाले एकपटकमा १० पाथीको घान पुगेपछि मात्र तोरी पेल्ने गरेका छौँ । एक पाथीमा दुई माना तोरीको तेल आउँछ । चिसो ठाउँको लेकाली तोरीबाट एक लिटर पाँच सय मिलिलिटर आउँछ । तोरी पोटिलो भएमा तेल राम्रो आउँछ,’ उनले भने । केही ग्राहक स्वयम् काठमाडांैबाट पनि तोरी मगाई पेल्न आउने गरेका छन् । रेप्सी, काल, सस्र्युं, रायो जातका तोरीलगायत स्थानीय जातका तोरी पेल्ने गरेको उनले बताए ।

हरेक दिन बिहान, हरेक साताको शनिबार या घान पुगेमा दिनमा पनि तोरी पेल्ने गरेका उनले चर्को आवाज निकाल्ने मेसिनमा कुनै स्वास्थ्य कवजबिना नै तोरी पेल्ने गरेका छन् । ‘आफूले अहिलेसम्म त्यस्तो कुनै पनि स्वास्थ्य सुरक्षाका सामग्री अपनाएको छैन । बानी परेकाले त्यस्तो असहजताको महसुस भएको छैन,’ उनले भने । सुरुताका पाथीको दुई रुपैयाँसम्म लिने गरेको सम्झना सुनाए । ‘अहिले पाथीको ३० रुपैयाँ लिने गरेको छु,’ उनले भने, ‘त्यो पनि चलनचल्तीमा जोखेर लिने गरेकाले तोरी पेलेको प्रतिकिलो १५ रुपैयाँ लिने गरेको छु । तोरी पेलेको पिना छोडेमा ज्याला लिने गरेको छैन ।’ तोरी पेलेको पिना गाई, वस्तुभाउलाई खुवाउन, कुखुराको दाना बनाउनलगायतमा प्रयोग गर्न सकिन्छ । ज्याला नलिई पिना छोडेमा आफूलाई मुनाफा थप हुने उनले बताए । अहिलेसम्म कुनै पनि बजारीकरण नगरी तोरी पेल्दै आएको उनले बताए । पसल-पसलमा तेल बेच्न नगएको उनले बताए । स्थानीय मिलमा पेलेको तोरीको निखार तेलको महत्व बुझी ग्राहक स्वयम् आउने गरेको उनको अनुभव छ । ‘केही समयअघि शुद्ध तोरीको तेल बजारमा पु¥याउन आफूले प्रयास भने नगरेको होइन । कामै नसिकी बढी तलबको अपेक्षा राख्ने प्रवृत्तिले गर्दा दक्ष कर्मचारी र प्राविधिकको कारणले गर्दा त्यो योजना त्यतिकै तुहियो,’ उनले भने । मेसिन बिग्रेमा आफैँले नै मर्मत गर्ने खुवी भएका उनले भुटेको तोरीको तेल निकाल्न पनि मेसिन जडान भने नगरेको होइन । तर, दक्ष कामदारको अभावले त्यो पनि लगानी खेर गएको उनको भनाइ छ ।

हात्तीगौँडामा रहेको रिमाल मेटल उद्योगमा बनाएको उक्त मेसिन जीर्ण अवस्थामै मिलभित्रै रहेको छ । मिल चलाउँदै अनि बिग्रेको बेला जेनतेन गरी उनले मेसिन मर्मत गर्ने गरेको अनुभव पनि सुनाए । ‘नुवाकोट वाणिज्य उद्योग सङ्घमा समेत सदस्य रहे तापनि त्यहाँ वार्षिक नवीकरण गरिन्छ । चुनावको बेला मात्र भोट हाल्ने काम हुन्छ । वार्षिक प्यानको तिर्नुपर्ने राजस्वको काममा मात्र सहजीकरण भएको छ । तर, त्यहाँबाट कुनै पनि प्रोत्साहनस्वरूप सहयोग भएको छैन । न त स्थानीय तहले हेर्छ न त सरोकारवालाले नै । यस्तै, हो भने जिल्लामा रहेका साना तथा मझौला उद्योग, व्यवसाय विलीन हुनुको साथै परनिर्भरतामै जिल्ला रहने कुनै दुईमत नहोला कि ?’ उनी प्रश्न गर्छन् । तामाको मूर्तिसमेत बनाउने कालिगढको समेत अनुभव सम्हालेका उनको परिवारमा एक श्रीमती, दुई छोरी र एक छोरा छन् । मिलमा काम गर्न र कामदार पाउन कठिन भएकाले आफूपछि तोरी पेल्ने मिलको व्यवसाय परिवारले निरन्तरता दिनेमा उनलाई विश्वास छैन ।