विदुर खानेपानीको अधिवेशन २२ गते अध्यक्षमा सञ्जीवको उम्मेदवारी घोषणा

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार १०:२२

विदुर, नुवाकोट जिल्लाको सदरमुकाम विदुर र विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरण गरिरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशन भदौ २२ गते हुने भएपछि राजनीतिक दलको सल्बलाहट सुरु भएको छ ।

भदौ २० गते उद्घाटन हुने र भदौ २२ गते मतदान हुने संस्थाको नवौँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले नेतृत्वसमेत चयन हुने भएकाले राजनीतिक दलहरू शक्ति परीक्षण गर्न आतुर देखिन्छन् । अधिवेशनमा संस्थाका बहालवाला उपाध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले गत हप्ता अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि चुनावी सरगर्मी बढेको हो । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठलाई राप्रपा, नेपाल परिवार दलले समर्थन गर्ने भएका छन् । गत सातौँ अधिवेशनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन हुँदा नौ सदस्यीय कार्यसमिति, गठबन्धन दलका उम्मेदवारले जितेको थियो । सातौँ अधिवेशनमा बहालवाला अध्यक्ष नारायणबहादुर खनालले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर जितेका थिए । खनालले निरन्तर योसहित तीन कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । संस्थाको विधानअनुसार कार्यसमितिको अध्यक्ष, पदाधिकारी र सदस्यमा उम्मेदवारी बन्न तीन वर्ष सदस्य रहेको हुनुपर्ने प्रावधान रहेको छ । संस्थाको निर्वाचित कार्यसमितिको तीनवर्षे कार्यकाल रहेको छ । संस्थामा अहिलेसम्म पूर्वमेयर ठाकुरप्रसाद गजुरेलले तदर्थ समिति ०५३ देखि ०६० सम्म अध्यक्ष, त्यसपछि मोहनबहादुर खड्का, ओमप्रकाश श्रेष्ठ, राजेन्द्र अर्याल एक/एक कार्यकाल अध्यक्ष भइसकेका छन् ।

खानेपानीको निर्वाचनका लागि हिजो बुधबारसम्म नेपाली काङ्ग्रेसले अध्यक्षलगायत पदाधिकारी र सदस्यको टुङ्गो लगाउन सकेको छैन । काङ्ग्रेसको तर्फबाट अध्यक्षमा बद्रीप्रसाद त्रिपाठी, राजेन्द्र अर्याल र छत्रबहादुर डङ्गोलको चर्चा चलेको छ । काङ्ग्रेसले सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको टिम बनाउन लागेको काङ्ग्रेसको विदुर नगर समितिले जानकारी दिएको छ । माओवादी र समाजवादी भने काङ्ग्रेसले गठबन्धनको मर्मअनुसार च्वाडी पब्लिक माविको व्यवस्थापन समिति गठनमा सम्मानजनक व्यवहार नगरेको कारण बिच्किएका छन् । माओवादी केन्द्र, समाजवादी र भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत छुट्टाछुट्टै टिम बनाउने तयारीमा जुटिरहेका छन् । संस्थामा एमालेबाहेक अन्य दलले विजय हुन फलामको च्युरा चपाएजस्तै हुने अवस्था रहेको उपभोक्ताले बताएका छन् । संस्थामा उपाध्यक्ष भएदेखि नै सञ्जीवबहादुर श्रेष्ठले उपभोक्ताको घरघरमा गएर समस्या पहिचान गर्ने र समाधान गर्दै आइरहेका छन् । श्रेष्ठ उपभोक्ताबीच लोकप्रिय भएकाले निर्वाचनमा उनको पल्ला भारी रहेको उद्योगी, व्यवसायी एवम् समाजसेवी तथा उपभोक्तासमेत रहेका धननारायण चित्रकार बताउँछन् ।