फोहोरबाट मोहर कमाउँदै त्रिशूली अस्पताल

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार १०:३८

विदुर, सरकारी अस्पतालको सबैभन्दा ठूलो चुनौती अस्पतालजन्य फोहोर व्यवस्थापनलाई मानिन्छ । तर, नुवाकोटको त्रिशूली अस्पतालले भने फोहोरलाई मोहोर बनाउन सुरु गरेको छ । अस्पतालले ‘बायोग्यास प्लान्ट’ राखेर फोहोरको उचित व्यवस्थापन गर्न सुरु गरेको छ ।

अव्यवस्थित विसर्जन गरिएका फोहोरबाट आउने दुर्गन्धले बिरामी एकातिर हैरान भएका हुन्छन् भने अस्पतालबाट नै रोगको महामारी फैलिन सक्ने जोखिम हुन्छ । तर, नुवाकोटको सरकारी अस्पताल त्रिशूली अस्पतालले जिल्ला तहमा पहिलोपटक ‘बायोग्यास प्लान्ट’ राखेर फोहोरको उचित व्यवस्थापन गर्न थालेको छ । यसबाट फोहोर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको छ । गर्भवती महिलालाई सुत्केरी गराउँदा निकस्ने प्लासेन्टा, अन्य मानव अङ्ग, खेर गएका खानेकुरा र अन्य सड्ने–गल्ने फोहोरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको हो । त्रिशूली अस्पतालमा वार्षिक औसत १६ सयजना महिलाले सुत्केरी सेवा लिँदै आएका छन् । बायोग्यास प्लान्टमा सुत्केरी गराउँदाका सालनाल, विभिन्न मानवजन्य अङ्ग, मासुका टुक्रा, अन्य सड्ने फोहोर सबै प्लान्टभित्र राखिनेछ । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको अस्पताल सुदृढीकरण कार्यक्रमको करिब नौ लाख रुपैयाँको लागतमा त्रिशूली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरिएको हो । ४० घनमिटरको सो प्लान्टबाट दैनिक ७० जना व्यक्तिलाई बिहान–बेलुका खाना बनाएर खुवाउन सकिन्छ । यो प्लान्टमा निस्किएको ग्यास अस्पतालको चिकित्सकको मेसमा तथा बिरामीलाई निःशुल्क खाना बनाउने प्रयोजन गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले जानकारी दिए ।

अस्पतालले मासिक १० हजारबराबरको एलपी ग्यास बिरामीलाई निःशुल्क खाना खुवाउन खर्च गर्दै आएको छ । अस्पतालले नकुहिने फोहोरमैला पनि मासिक तीन हजारमा बेच्न थालेको छ । ‘बायोग्यासबाट सड्ने-गल्ने फोहोरको दीर्घकालीन व्यवस्थापनमा समेत सहज भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले फोहोरले अस्पतालमा दुर्गन्ध फैलिन पाउनेछैन भने फोहोरबाट मोहर पनि कमाउन सकिने बताए । अस्पतालकी मेट्रोन देवकी खतिवडाका अनुसार अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि फोहोरबाटै सर्ने विभिन्न सङ्क्रमणजन्य रोगको जोखिमसमेत न्यूनीकरण हुनेछ ।