+
Search

ताजा अपडेट +

पपुलर +

एमाले, काङ्ग्रेस, माओवादी उम्मेदवार चयनमा

एमाले, काङ्ग्रेस, माओवादी उम्मेदवार चयनमा
त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नुवाकोटमा क्रियाशील राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त भइरहेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोटको प्रतिनिधिसभाको दुईवटा क्षेत्र र प्रदेश सभाको चारवटा क्षेत्रमा सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउने उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेका छन् । गत ०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीका हितबहादुर तामाङ, क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा राधिका तामाङ ‘ख’ मा बद्री मैनाली र प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा, प्रदेश ‘क’ मा केशव पाण्डे र ‘ख’ मा हिरानाथ खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा देशभरि नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने गरी गठबन्धन भएको थियो । उक्त गठबन्धनले नेपाली काङ्ग्रेसलाई नुवाकोटमा पत्तासाफ नै गराएको थियो । गत निर्वाचनमा दुई दल मिलेर जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् आधा दर्जनपटक अर्थमन्त्री भएका चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्व डा. रामशरण महतलाई हितबहादुर तामाङले र प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडाले नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राष्ट्रिय राजनीतिमा सदाबहार नेता अर्जुननरसिंह केसीलाई हराएका थिए । चारवटा प्रदेशमा पनि गठबन्धन दल माओवादी केन्द्रले दुई र एमालेले दुई प्रदेशमा विजयी भएर काङ्ग्रेसलाई नुवाकोटमा पत्तासाफ गरेका थिए । गत निर्वाचनमा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा हिरानाथ खतिवडाले तत्कालीन काङ्ग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङलाई र प्रदेश सभा ‘क’ मा केशव पाण्डेले काङ्ग्रेसका तत्काल जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई पराजित गरेका थिए । त्यसैगरी, क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा पनि नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सचिव रमेश महतलाई नेकपा एमालेका तत्कालीन जिल्ला कमिटीका उपाध्यक्ष बद्री मैनालीले र प्रदेश सभा ‘ख’ मा नेपाली काङ्ग्रेसका तत्कालीन जिल्ला कमिटीका कोषाध्यक्ष महेन्द्र थिङलाई राधिका तामाङले पराजित गरेका थिए । अहिले काङ्ग्रेस र माओवादीको केन्द्रबीच केन्द्रदेखि नै गठबन्धन हुने गरी बैठक चलिरहेको छ ।

गठबन्धन हुँदा माओवादीले हिजो जितेको क्षेत्र नछाड्ने गरी उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको छ । काङ्ग्रेसले माओवादी केन्द्रलाई मनाएर प्रतिनिधिसभाको दुईवटै क्षेत्र लिने र प्रदेश सभाका तीनवटा क्षेत्र दिने गरी दबाब केन्द्रीय समितिले दिइरहेको छ । नुवाकोटमा बुढा नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसीलाई प्रतिनिधिसभामा उठाउने र अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामालाई प्रदेशमा उठाउने गरी केन्द्रले गठबन्धनमा छलफल गरिरहेको छ । सत्तागठबन्धनका दल भने नुवाकोटमा के गर्ने भनेर अलमलमै रहिरहेको देखिन्छ । काङ्ग्रेसले समानुपातिकमा बहालवाला सांसदलाई फेरि समानुपातिकमा टिकट नदिने निर्णय गरिसकेको छ । केन्द्रीय सदस्य एवम् नुवाकोटबाट समानुपातिक सांसद बहादुरसिंह लामासहित काङ्ग्रेसका बहालवाला ४० जना केन्द्रीय नेताले प्रत्यक्षमा वा प्रदेश सभामा मात्र उम्मेदवार हुन पाउने भएका छन् । त्यसो नभए बहादुरसहित ४० जना नेताको संसद् प्रवेशको ढोका बन्द हुनेछ ।काङ्ग्रेस नुवाकोटले केन्द्रीय प्रतिनिधि मदनबहादुर अमात्यको उपस्थितिमा जिल्ला कार्य सम्पादन समितिको बैठक बसेर जनताको साथमा काङ्ग्रेसको अभियानअन्तर्गत भदौ २४ गतेसम्म जिल्ला, क्षेत्र र पालिकामा कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार अभियानअन्तर्गत भदौ १८ गते जिल्ला कार्यसमितिको अभियान, भदौ १९ गते जिल्ला, क्षेत्र, प्रदेश र पालिका कार्यसमितिले प्रतिनिधि खटाई ८८ वटै वडातहमा कार्यक्रम गर्ने निर्णय गरेको छ । नुवाकोट काङ्ग्रेसले भदौ २० गते जिल्लाबाट प्रतिनिधि पठाई १२ पालिकामा अभियानसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने, भदौ २२ गते जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भ्रातृ तथा शुभेच्छुक संस्थाको जिल्ला प्रमुखसँग संयन्त्र अन्तत्र्रिmया गरी भदौ २४ गते अभियान समापन गर्ने जानकारी जिल्ला उपाध्यक्ष राजु थापाले दिएका छन् । अभियानसँगै नेपाली काङ्ग्रेसले नुवाकोटबाट प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम छनोटसमेत गरिने उनले बताए ।

त्यसैगरी, सत्तामा रहेको अर्को घटक माओवादी केन्द्र नुवाकोेट कमिटीले विगतमा जितेको प्रतिनिधिसभा र प्रदेश सभा नछाड्ने गरी छलफललाई जिल्लादेखि केन्द्रसम्म तीव्र बनाइरहेको छ । एमालेले पनि जिल्लाको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभाका लागि पदाधिकारीको मंगलबार बैठक बसेर सम्भावित उम्मेदवारको सूची तयार गरी क्षेत्रीय कमिटीमा छलफलका लागि लैजाने तयारी गरिरहेको छ । एमाले केन्द्रले गत स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनेका नयाँ जनतामा लोकप्रिय व्यक्तिलाई छनोट गर्न निर्देशन दिएको छ । केन्द्रीय निर्देशनअनुसार एमाले नुवाकोटले जिल्लामा पार्टीको अवस्थाको मूल्याङ्कन गरेर जित्न सक्नेलाई टिकट दिने गरी घनीभूत छलफल गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह