Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

घरायसी लेनदेनको कानुनी प्रक्रिया

घरायसी लेनदेनको कानुनी प्रक्रिया
त्रिशूली प्रवाह
३ साल अगाडी
  • शिवराज धिताल

दुई वा दुईभन्दा बढी व्यक्तिबीच कुनै सर्त राखी कुनै रकम वा वस्तु लिनु र दिनु गरेमा निजहरूबीच लेनदेन गरेको मानिने भनी लेनदेनको परिभाषा गरिएको छ । त्यस्तै कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनुपर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिएसरह मानिने भनी ऋणको परिभाषा गरेको छ । मुलुकी देवानी संहिता, २०७४ मा लेनदेनसम्बन्धी व्यवस्थालाई परिच्छेद १५ मा समेटिएको छ ।

लिखत गरी लेनदेन गर्न हुन्छ । साहुले ऋणीबाट लिखतबमोजिमको ब्याज लिन पाउँछ । तर, लिखतमा ब्याज लिने कुरा उल्लेख नभएमा साहुले ब्याज लिन पाउँदैन । ब्याजको रकम वार्षिक १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । यदि लिखतमा मुनाफा लिने कुरा उल्लेख भएकोमा र मुनाफा लिने कुरा लिखतबाट नदेखिए साहुले ऋणीबाट ब्याजसरह लिन पाउँछ । साहुले ऋणीबाट ब्याजको ब्याज र साँवाभन्दा बढी ब्याज लिन पाउँदैन । यदि साहुले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने पनि साँवामा कट्टी हुने र साँवा चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज साहुले फिर्ता गर्नुपर्ने हुन्छ । साहु र ऋणीबीच साँवा, ब्याज लिनुदिनु हुँदा संहिताको दफा ४८२ बमोजिमको प्रक्रिया पूरा गर्नुपर्छ । ऋणीले साहुलाई साँवा, ब्याजको सबै रकम चुक्ता गरेमा साहुसँग भएको लिखत च्याती वा रकम असुल भएको व्यहोरा लिखतको कुनै ठाउँ वा पीठमा खुलाई साहुले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता गर्नुपर्छ । यदि लिखत फेला नपरेमा साहुले सोही व्यहोरा यो मितिमा यति रकम बुझी लिएको भनी भर्पाई गरी ऋणीलाई दिनुपर्छ । साँवामध्ये केही रकम वा ब्याज बुझाउँदा साहुले ऋणीसँग कुन मितिमा के–कति रकम बुझेको हो, त्यस कुरा लिखतको पीठमा खुलाई ऋणीको सहीछाप गराई लिनुपर्छ । तत्काल लिखत फेला नपरे वा साथमा नभए रकम बुझेको छुट्टै भर्पाई गरी ऋणीलाई दिनुपर्छ ।

यस्तो लिखतको अवधि बढीमा १० वर्षको हुन्छ । यो अवधिभित्र ऋणीले साहुलाई साँवा वा ब्याजमध्ये केही रकम बुझाएमा वा साँवा, ब्याज बुझाउन लिखतको अवधि थप गरेमा उक्त मितिले अर्को १० वर्षको अवधि हुन्छ । यो थप अवधिभित्र ऋणीले साहुलाई साँवा, ब्याज बुझाउनुपर्छ । नबुझाउने ऋणीलाई साहुले सम्बद्ध अदालतमा नालिस गर्न सक्छ । यो अवधिभित्र नालिस गरेको रहेछ भने अदालतबाट ब्याजसमेत पाउने गरी फैसला भएकोमा साहुले ऋणीबाट फैसलाबमोजिम भरिभराउँदाको मितिसम्मको ब्याजसमेत पाउनेछ । कसैले कानुनी प्रक्रिया पु¥याई घरसारमा लेनदेन गर्दा लिखत नगरे पनि कुनै लिखत, बैंकिङ कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बहिखातामा लेखिएको व्यहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको देखिन आएमा त्यस्तो लिखत वा व्यहोराको आधारमा ऋणीलाई सम्बद्ध अदालतमा नालिस गर्न सक्छ । यस्तो नालिसमा त्यस्तो रकम अदालतले भराइदिन सक्छ । कसैले कुनै व्यक्तिसँग लेनदेन गर्दा लिखतमा घरको मुख्य व्यक्तिको अनिवार्य सहीछाप गरेको हुनुपर्छ । अन्यथा सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहुले त्यस्तो सम्पत्तिबाट भराई लिन पाउँदैन । यस किसिमको अवस्था परी ऋणीसँग रकम लिन नसक्ने भएमा १० वर्षभित्र साहुले ऋणीउपर नालिस गरी आफ्नो हक कायम गरी राख्नुपर्छ । सगोलको सम्पत्तिमा ऋणीको हक पुगेपछि साहुले कानुनबमोजिम आफ्नो रकम भराई लिन पाउँछ ।

घरसारमा भएको लिखत साहुले सुरक्षित साथ राख्नुपर्छ । त्यस्तो लिखत हराएमा वा चोरी, आगलागीजस्ता नियन्त्रणबाहिरको परिस्थिति परी नासिएमा साहुले सोही व्यहोरा खुलाई त्यो भएको मितिले १५ दिनभित्र सम्बद्ध स्थानीय तहमा निवेदन दिनुपर्छ । स्थानीय तहले व्यहोरा खुलाई भर्पाई निवेदकलाई दिनुपर्छ । अर्को लिखत गरिदिन मञ्जुर नगरेमा साहुले त्यस्तो म्याद नाघेको मितिले ३५ दिनभित्र लिखत हराएको वा नियन्त्रणबाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नुपर्छ । कानुनी हक दायित्व सिर्जना गर्ने वा नगर्ने घरसारमा तयार हुने कुनै पनि लिखत केरमेट नहुने गरी टाइप गरी, छापी वा हातले लेखी तयार गर्नुपर्छ । कसैले पनि कानुनबमोजिम लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भर्पाईजस्ता लिखत, कागज नगरी लेनदेन गर्न हुँदैन ।

लिखत तयार गर्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को परिच्छेद ४ मा उल्लिखित कानुनी कार्यविधि अपनाउनुपर्छ । लिखतमा सम्बद्ध व्यक्तिको नाम, थर, ठेगाना, तीनपुस्ते विवरण, परिचय खुल्ने नागरिकता, राहदानी नम्बर, इमेल आदि खुलाउनुपर्छ । साथै लिखतमा लेख्न जान्ने वा नजान्ने व्यक्तिको हस्ताक्षर वा ल्याप्चे सहीछाप तथा दुईजना साक्षीको पनि अनिवार्य रूपमा हस्ताक्षर तथा सहीछाप हुनुपर्छ । विनिमेय अधिकारपत्र, बोलपत्रबमोजिमका करार, ठेक्कापट्टाबाहेकका हस्ताक्षर वा सहीछाप गर्नुपर्ने पचास हजार रुपैयाँभन्दा बढी रकमको वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो रकममा नघट्ने गरी निर्धारण गरेको नेपालभित्र घरसारमा तयार भएको लिखत स्थानीय तह वा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनुपर्छ । यसका लागि सम्बद्ध पक्षहरू कार्यालयमा आफैँ उपस्थित हुनुपर्छ । लिखत प्रमाणित गर्दा कार्यालयले पनि लिखतका पक्षहरूको नाम, थर, ठेगाना लिखत भएको मिति, लेनदेन भएको रकम वा बिगोसमेत खुलाई अभिलेख राखी लिखत प्रमाणित गरिदिनुपर्छ । कसैलाई पनि डर, धाक, धम्की दिई, जालसाजी गरी लेनदेन भएको लिखत तयार गर्ने, स्थानीय तह वा सम्बद्ध वडा समितिबाट प्रमाणित गर्ने, साँवा, ब्याज असुल गर्नेजस्ता कार्य गर्नु वा गराउनुहुँदैन । कसैले पनि अक्षम वा अर्धसक्षम व्यक्तिसँग लेनदेन गर्नुहुँदैन । यस्तो लेनदेनले कानुनी मान्यता पाउँदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह