एमाले र माओवादीद्वारा प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस

  • त्रिशूली प्रवाह
  • २३ भाद्र २०७९, बिहीबार १६:२४

  • सरस्वती न्यौपाने

धुन्चे: रसुवा जिल्लामा प्रतिनिधिसभाको एक क्षेत्र र प्रदेश सभाको दुई क्षेत्रका लागि दुई ठूला कम्युनिस्ट पार्टीले आगामी निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम प्रदेश कमिटीमा पठाएका छन् ।


आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लाबाट नेकपा एमाले, नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका छन् । दुवै पार्टीको प्रदेश कमिटीबाट नाम सिफारिस भएअनुसार जिल्लाको बैठकले रायसहित प्रदेश कमिटीमा पठाएका छन् । एमाले रसुवाको शनिबार धुन्चेमा जिल्ला कमिटीको बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सभा सदस्यको उम्मेदवारको नाम सिफारिस गरेको छ । सङ्घीय प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा भने उम्मेदवारको नाम सिफारिस हुन बाँकी रहेको पार्टीले जानकारी दिएको छ । दुई प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको नाम एमाले बागमती प्रदेश कमिटीमा पठाएको पार्टी अध्यक्ष कर्नेल तामाङले जानकारी दिए । प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेले बेली बुलुन र कारग्याल्मो श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रदेश ‘क’ प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङ र कुलप्रसाद भट्ट र समानुपातिकतर्फ कर्नेल तामाङ, रिटुपेमा तामाङ, शम्भु गुरुङ, मेन्दोछिरिङ तामाङ, चूडामणि पौडेल, डोलबहादुर नेपाली, सुन्तलीमाया घले, कारग्याल्मो श्रेष्ठ, रामजी विक रहेका छन् । त्यस्तै, प्रदेश ‘ख’ प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ भवानीप्रसाद न्यौपाने, तेम्ब्रेल तामाङ, सुरेन्द्रराज लम्साल, कार्साङ तेम्पा तामाङ र कमला थापा र समानुपातिकतर्फ काजीमान तामाङ र सरिता लम्सालको नाम सिफारिस भएको सहसचिव कैसाङनुर्पु तामाङले जानकारी दिए ।


काङ्ग्रेस पार्टीसँग गठबन्धनमा निर्वाचन लड्ने तयारीमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, रसुवाले प्रतिनिधिसभा र दुई प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । माओवादी केन्द्रको शनिबार कालिकास्थानमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उम्मेदवारको नाम सिफारिस गरेको हो । माओवादीले केन्द्रीय सदस्यसमेत रहेका इन्द्र गौतम, दीपक देवकोटा र फुर्पुतेन्जिन तामाङलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्षमा उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । जिल्लाले प्रतिनिधिसभाको समानुपातिकमा भगवती न्यौपाने, गणेश विक, पासाङफेल्मो तामाङ, पासाङ थोक्रा तामाङ, मेघबहादुर ढकालको नाम सिफारिस गरेको छ ।


माओवादीले प्रदेश (क) प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ केशवप्रसाद पौडेल, जयराम घले र छेसिंगी तामाङ र समानुपातिकमा भगवती न्यौपाने, गणेश विक, पासाङ तामाङ, मेघबहादुर ढकाल (प्रकाश) र पासाङ फेल्मो तामाङको नाम सिफारिस गरेको छ । त्यसैगरी, प्रदेश सभा (ख)बाट प्रत्यक्षमा इन्द्रप्रसाद गोतामे, माधव लामिछाने र दिलीप तामाङ र समानुपातिकमा तेन्जिङ तामाङ, मनवीर कामी, नानीमैया न्यौपाने मगर, अमितबहादुर गुरुङ र हितबहादुर गुरुङको नाम जिल्लाबाट सिफारिस भएर प्रदेश कमिटीमा पुगेको छ ।