साञ्जेन जलविद्युत् सेयर खरिद म्याद पुनः थप

  • त्रिशूली प्रवाह
  • ६ आश्विन २०७९, बिहीबार १५:०५

धुन्चे, रसुवा जिल्लामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीको सेयर खरिद गर्ने म्याद स्थानीयको आग्रहमा १५ दिन थप भएको छ । जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साञ्जेन जलविद्युत् आयोजनाको आइपियो आवेदन १५ दिनका लागि पुनः म्याद थपिएको छ । सार्वजनिक बिदा कटाएर १५ दिन म्याद थप गर्दा असोज ३० गतेसम्म यसको म्याद रहनेछ ।

गत भदौ ५ गते प्रथमपटक निष्कासन गरेको आइपिओको फारम भर्ने समय १९ गतेसम्म १५ दिनको म्याद रहेको थियो । पुनः १९ बाट असोज ४ गतेसम्म म्याद बढाइएको थियो । पुनः सो अवधिसम्म पनि मागअनुसारको आवेदन नपरेपछि थप १५ दिनका लागि आवेदनको म्याद थप गरिएको कम्पनीले जनाएको छ । सो सेयरमा अतिप्रभावित क्षेत्र आमाछोदिङ्मो गाउँपालिका-५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडा १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीले आवेदन दिन सक्नेछन् । निष्कासन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका वासिन्दाका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँड गरिने जनाएको छ । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् । सो आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सात सय कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।