त्रिशूली बचत तथा ऋण सहकारीको साधारणसभामा ज्येष्ठ नागरिक सम्मानित

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार ११:४५

त्रिशूलीबजार, नुवाकोट जिल्लामा सबल सहकारी संस्थामध्येको त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि.को २२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सेयर सदस्यमध्ये ७० वर्ष नाघेको सेयर सदस्यलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत यसपटक १२ जना सम्मानित भएका छन् ।

०५६ सालमा स्थापना भएको सहकारी संस्थामा पुरुष एक हजार पाँच सय ५७, महिला पाँच सय २० र संस्थागत २५ गरी दुई हजार एक सय दुईजना सेयर सदस्य रहेका छन् । सहकारीको २२औँ साधारणसभाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरीले गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख ठकुरीले ज्येष्ठ सेयर सदस्य हरिहर मानन्धर, रमेशकुमार श्रेष्ठ, राजुबहादुर श्रेष्ठ, विष्णुप्रसाद लम्साल, पूर्णप्रसाद सिलवाल, सानुमैया जोशी, निर्मला वैद्य, प्रेमबहादुर अधिकारी, न्हुच्छेलाल खड्गी, मानिकलाल श्रेष्ठ, पुण्य जोशी, मन्जोम तामाङलाई सम्मानपत्र, नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्त कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये ०७८ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने राजेन्द्रकुमार प्रधानको छोरा रिवजकुमार प्रधान, सरिता पौडेलकी छोरी सजिना पौडेल, अजर अमात्यको छोरा अविर अमात्य, नन्दकुमार शाक्यको छोरा सिद्धार्थ शाक्य र सुनील बज्राचार्यको छोरा सोनेस बज्राचार्यलाई नगद पाँच–पाँच हजारसहित खादा लगाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सहकारीले बर्सेनि प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको १५ हजार नगद वितरण गरिएको थियो । छात्रवृत्ति पाउनेमा त्रिभुवन त्रिशूली बहुमुखी कलेजका छात्रा पार्वती पौडेल र रिसाल तामाङ, त्रिभुवन त्रिशूली माविका जेकु तामाङ र दुर्गा विक, महादेव मावि रातमाटेका जनम तामाङ र निशा राई रहेका छन् ।

सो सभामा सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदननुसार आ.व. ०७९ असारसम्म सेयरपुँजी चार करोड दुई लाख ४१ हजार दुई सय, बचत रकम २६ करोड ७४ लाख ६२ हजार ९२, ऋण लगानी २६ करोड ३१ लाख ६९ हजार एक सय ५२ रुपैयाँ रहेको छ । सहकारीले गत आ.व.मा नाफा ३६ लाख ४२ हजार २ सय ८२ मध्ये ५ प्रतिशत कर कट्टा गरी खुदनाफा ३४ लाख ६० हजार १ सय ६८ रुपैयाँ आर्जन गरेको छ । सहकारीले गत आ.व.मा आयकर मात्र एक लाख ८२ हजार एक सय १४ रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ । सहकारी सञ्चालक समितिमा अध्यक्ष हरिलाल श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र अमात्य, सचिव राजेश श्रेष्ठ, कोषाध्यक्ष नाथलाल डङ्गोल र सदस्य धनबहादुर श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, मदनकृष्ण प्रधानाङ्ग रहेका छन् । सहकारीको लेखा सुपरिवेक्षण समिति उपेन्द्र अमात्यको संयोजकत्वमा सुरेशबहादुर श्रेष्ठ र तेजु श्रेष्ठ जोशी सदस्य रहेका छन् । सहकारीमा हरिचन्द्र अमात्य प्रबन्धकसहित नौजना कर्मचारी कार्यरत रहेका छन् । नुवाकोट जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीले बेलकोटगढी नगरपालिकाको रातमाटेमा सेवा केन्द्रसमेत सञ्चालन गरिरहेको छ ।