१० वर्षमा रसुवामा ५५ जनाले गरे आत्महत्या

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार ११:५६

धुन्चे, जिल्ला प्रहरी कार्यालय रसुवाले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा असोज २ गते सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विभिन्न कारणले आत्महत्या गर्नेको सङ्ख्या रसुवामा न्यून रहेको र १० वर्षमा ५५ जनाले मात्रै हात्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर पर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबै दायित्व सम्झेर लाग्नुपर्छ । जिल्लामा आ.व.मा ०६९/७० मा ६ जनाले, आ.व. ०७०/७१ मा ४ जनाले, आ.व. ०७१/७२ मा पाँचजनाले, आ.व. ०७२/७३ मा सातजनाले, आ.व. ०७३/७४ मा ६ जनाले, आ.व. ०७४/७५ मा चारजनाले, आ.व. ०७७/७८ मा ६ जनाले र आ.व. ०७८/७९ मा चारजनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । विगत १० वर्षको अवधिमा रसुवामा ४६ जनाले झुन्डिएर, आठजनाले विष सेवन गरेर र एकजनाले भिरखोलामा हमफालेर आफ्नो ज्यान गुमाएका हुन् । विश्व आत्महत्या दिवसको अवसरमा सदरमुकाम धुन्चेबजार परिक्रमा गरी प्रभातफेरीसहित जनचेतनामूलक सन्देश प्रवाह गरी कार्यक्रमको समापन गरिएको थियो । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज जैसीले समाजमा आत्महत्या किन बढ्छ र यसको रोकथाम के कारणले गर्न सकिन्छ भन्नेमा राष्ट्रसेवक कर्मचारी शिक्षक, विद्यार्थी, नागरिक समाज, पत्रकार, समाजसेवी, बुद्धिजीवी र सरोकारवाला सबै लागिपर्नुपर्ने बताए । दिवस मनाउन प्रजिअ नवराज जैसी, विष्णुदल गणका गणपति विक्रम थापा, सशस्त्र प्रहरी प्रमुखलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, शिक्षक, विद्यार्थी, पत्रकार, स्थानीयवासी र सरोकारवाला निकायको सहभागिता रहेको थियो । दिवस जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा भएको हो ।

.