बेलकोटगढीको सबै सडक दसैँअघि मर्मत

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार १३:१७

बेलकोटगढी, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रहेका सबै सडक दसैँ पर्व अगावै गाडी सुचारु हुने गरेर मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ ।

बर्खायामको भलबाढीले क्षति पु¥याएसँगै अवरुद्ध भएका दर्जनौँ सडक दसैँ पर्वअघि नै मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको छ । पालिकाभित्र रहेका अधिकांश सडक बर्खायाममा क्षति पुगेर अवरुद्ध बनेकाले दसैँअघि नै सुचारु गर्न बजेट विनियोजन गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले बताए । उनले बताएअनुसार गत हप्तादेखि नै सडक मर्मतको काम सुरु गर्न नगरमा रहेका तेह्रवटै वडालाई सात/सात लाखको दरले बजेट उपलब्ध गराइएको छ । अहिले उपलब्ध गराइएको बजेट पर्याप्त नभए पनि काम सुरु गर्न सहज बनाएकाले आवश्यकताको आधारमा बजेट अपुग भएको स्थानमा नगरले ‘विशेष सम्बोधन’ गर्ने नगरप्रमुख गुरुङले जानकारी दिए । अघिल्लो स्थानीय सरकारले एकैपटक सुरु गरेको दुई सय ५६ वटा सडकसहित थप भएका अधिकांश सडकको निर्माण सम्पन्न हुन बाँकी रहेको छ । एक्स्काभेक्टर (हेभी उपकरण) प्रयोग गरेर विस्तार गरिएका सडक अधिकांश जेठको अन्तिम साता परेको अविरल वर्षात्पछि अवरुद्ध हँुदै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन अर्थात् (डिपिआर) र प्राविधिक सर्वेक्षण नगरी उपभोक्ता समितिमार्फत विस्तार गरिएका सडकलाई दिगो बनाउन अब नगरले नेतृत्व लिने उपप्रमुख शिवप्रसाद दाहालले बताए ।

कानुनअनुसार उपप्रमुख अनुगमन समितिको संयोजकसमेत हुने भएकाले दसैँ पर्वअगावै सुचारु गर्न लागिएका सडकमा ढल-नालीको व्यवस्था, आवश्यकताअनुसार स्तरोन्नति, पर्खाल लगाउने, दायाँबायाँ संरक्षण (टेवा वाल) दिएर विस्तार गरिएका सडकलाई टिकाउ बनाउन जोड दिनेसमेत उपप्रमुख दाहालले बताए । नगरपालिकाले अहिले प्रत्येक वडालाई सात लाखको दरले छुट्याएको बजेटले वडास्तरीय उपभोक्ता समिति बनाएर उपलब्ध भएसम्म श्रमिक र त्यो सम्भव नभएमा तथा ठूलो अवरोध हटाउन उपकरण प्रयोग गरेर जतिसक्दो चाडो काम गर्न जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए । साबिकको ६ वटा गाविस मिलेर बनेको बेलकोटगढीको भूगोल ग्रामीण क्षेत्र र भक्तपुर जिल्लाभन्दा ठूलो छ । नगरपालिकाको क्षेत्रफल एक सय ५५ दशमलव ६ वर्गकिलोमिटरमा फैलिएकाले विकासको पूर्वाधार विस्तार एवम् निर्माणमा विभिन्न चुनौती रहेका छन् । पर्याप्त सम्भावनाको आशा लिएर विकासका अवरोधको सामना गरेर नगरपालिका अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए ।