+
Search

ताजा अपडेट +

पपुलर +

डालेचुक र लालीगुराँसको जुसबाटै लोभलाग्दो आम्दानी

त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको साबिकको धुन्चे गाविस हालको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेका एक व्यवसायीले डालेचुक र लालीगुराँसको जुस उत्पादन गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । स्थानीय वनपाखामा खेर गइरहेको निःशुल्क प्राप्त हुने डालेचुक र लालीगुराँसको जुस उत्पादन गरेर धुन्चेका रोहितकुमार श्रेष्ठले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

श्रेष्ठले ०५९ सालमा हिमालयन फलफूल प्रशोधन उद्योग दर्ता गरेर जङ्गलमा खेर गइरहेको लालीगुराँस सङ्कलन गरी आफ्नै घरमा मेसिन राखेर जुस बनाउन थालेका थिए । सुरुमा डालेचुक र लालीगुराँसको पनि जुस हुन्छ र भनेर खिल्ली उडाउनेहरू अहिले उनको आम्दानी देख्दा पछुताइरहेका छन् । उनले एक बोतलको दुई सय रुपैयाँमा धुन्चेलगायत जिल्लाको प्रमुख बजार क्षेत्र र नुवाकोटको त्रिशूली, बट्टार हुँदै काठमाडौंसम्म बिक्री गरिरहेका छन् । डालेचुक सानो दाना फूल नफुली फल्ने फल हो । यो क्यानजिङ उपत्यकताभन्दा माथि लाङसिसा भन्ने ठाउँमा र पुरानो तातोपानी क्षेत्रमा पाइन्छ । विशेषगरी डालेचुकको बोट खोला, खोल्सामा पाइन्छ । यो फल भदौदेखि मङ्सिरसम्म पाइन्छ । विगतमा रोहितका बुबा बाबुराम श्रेष्ठले सुरु गरेको उक्त काम अहिले छोरा रोहितले सम्हालिरहेका छन् । दुःख नगरी कहीँकतै पनि पैसा कमाउन सकिँदैन भन्ने सोच राखेका बाबुराम श्रेष्ठले छोरालाई पनि यो व्यवसायमा सहभागी गराउन सफल भएका छन् । पढेलेखे पनि काम त गर्नैपर्छ भन्ने सोचले बुबाको कामलाई निरन्तरता दिइरहेको रोहित बताउँछन् । जुस व्यवसायबाट श्रेष्ठको चारजनाको परिवार सजिलैसँग पालिएको छ । बाबुरामले सबै ठाउँतिर बुझ्दै सबैसँग राय लिँदै जङ्गलमा दाउरा काट्न जाने क्रममा लालीगुराँसको फूल ढकमक्क फुलेको देखेर पूजा गर्न र औषधि हुन्छ भनेर एक-दुई थुङ्गा ल्याउँथे । उनको सोच आयो कि यसलाई टिपेर जुस बनाएर बेच्न पाए पैसा आउँथ्यो । यस्तो काम कसैले गरेको छैन, आफैँ सुरु गर्छु भनेर बाबुराम लामटाङ राष्ट्रिय निकुञ्जसँग अनुमति लिएर फूल टिपेको स्मरण गर्छन् । उनले औषधिको रूपमा बनाउन सुरु गरेको जुस अहिले उद्योगको रूपमा स्थापित भएको छ ।

रोहितको परिवारले वार्षिक यो उद्योगबाट पाँच लाखभन्दा बढी कमाइरहेको छ । कोभिडको महामारीको दुई वर्ष खासै आम्दानी नभएको बताउने रोहित कोभिड साम्य भएपछि भने देश-विदेशबाट माग भएको बताउँछन् । रोहितले गत वर्ष झन्डै दुई सय ५० बोतल जुस बिक्रीबाट एक लाख कमाएका थिए । उनले डालेचुकको एक बोतलको तीन सय रुपैयाँमा बेचिरहेका छन् । डालेचुकको जुस प्रयोगले महिलाको महिनावारी गडबडी, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, मस्तिष्क क्यान्सर, पेटसम्बन्धी रोग लाग्नबाट बचाउँछ । यसलाई दिनको एक लिटर पानीमा मिसाएर खाए राम्रो हुनेसमेत आयुर्वेदका अनुसन्धान गर्नेले बताएका छन् । लालीगुराँसको जुसले मोटोपन घटाउने, मधुमेह, श्वेतप्रहर, मुखमा हुने मसिना घाउ निको हुने र रगत सफा गर्नेसमेत बताइएको छ । २० मिलिलिटर पानीमा मिसाएर दिनको तीनपटक खाँदा राम्रो हुने रोहित बताउँछन् । मान्छे अस्ट्रेलिया, जापान, अमेरिका भनेर विदेश जान्छन्, तर मचाहिँ रसुवाली जङ्गलमा लालीगुराँस टिप्दै उताको आम्दानी यहीँ गरिरहेको छु । उद्योगको लागि आवश्यक सरसामान र कामदार तथा ढुवानीको ज्याला बढेकाले पुरानो बिक्री मूल्यमा केही बढाउनुपर्ने अवस्था आएको उनले त्रिशूली प्रवाह साप्ताहिकलाई बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह