+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा तीन पदमा २९ जनाको उम्मेदवारी

त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि २९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिकाअनुसार आइतबार प्रतिनिधिसभा सदस्य एक र प्रदेश सभा सदस्य दुईका लागि २९ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार प्रतिनिधिसभाका लागि ११ र प्रदेश सभा (क) तर्फ नौ र प्रदेश सभा (ख) तर्फ नौजनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाभर एक मात्रै प्रतिनिधिसभा सदस्य सिटमा वर्तमान सत्तागठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान पूर्वप्रतिनिधिसभा सदस्य मोहन आचार्यले र नेकपा एमालेको तर्फबाट केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा

संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सत्तागठबन्धनमा समेत रहेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्यमा शिवप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् । त्यसैगरी, सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मीननाथ देवकोटा, राप्रपाबाट टीकाप्रसाद देवकोटा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वर बाटी, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट विकास गलान र जनसमाजवादी नेपाल पार्टीबाट सिर्जना सुनुवारले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका छन् । देशैभरि स्वतन्त्र उम्मेदवारी दिने लहर रसुवामा पनि देखियो । रसुवामा कर्सावाङ्दी तामाङ, रामशरण पौडेल र लीलाबहादुर न्यौपानेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा दलका र स्वतन्त्र गरी नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस बागमती प्रदेश कमिटी सदस्य तथा निवर्तमान प्रदेश सभा सदस्य प्रभात तामाङले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट निवर्तमान जिल्ला समन्वय समिति, रसुवाका प्रमुख कुलप्रसाद भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रदेश सभा सदस्यका लागि जनसमाजवादी नेपाल पार्टीबाट कामी थोक्रा, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट जितमान तामाङ, तामाङ सालिङ लोकतान्त्रिक पार्दीबाट पाल्देन वाङ्दी तामाङ, मजदुर किसान पार्टीबाट बाबुकाजी मकाजु, राप्रपाका महेशकुमार डङ्गोल, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सनथ देवकोटा र स्वतन्त्रबाट सिदर याङ्जेन लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रप्रसाद गोतमे, नेकपा एमालेबाट बागमती प्रदेश कमिटी सदस्य तेम्ब्रेल तामाङ, नेपाल मजदुर किसान पार्टीबाट तुल्सीराम ग्वाछा, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट रामप्रसाद न्यौपाने, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट वाङ्दे घले, तामाङ सालिङ लोकतान्त्रिक पार्टीबाट वाङ्जेन तामाङ, नेपाली काङ्ग्रेस (बिपी) पार्टीबाट शारदाकुमार न्यौपाने (सरोज), राप्रपाबाट हरिप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह