पीपलटार, नुवाकोटको विदुर नगरपालिका-५ को कार्यालयले वडाको सार्वजनिक क्षेत्रमा धूम्रपान र मद्यपान प्रयोगमा निषेध गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन र नियमावलीअनुसार वडाले आफ्नो अधिकार प्रयोग गर्दै कार्यक्षेत्रभित्र निषेध गरिएको वडाध्यक्ष लीलानाथ न्यौपानेले बताए ।
वडाध्यक्षले गत महिना जारी गरेको विज्ञप्तिअनुसार वडाको क्षेत्रभित्र रहेको विद्यालय क्षेत्र, वडा कार्यालयसहित सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, सार्वजनिक स्थलमा चुरोट, सुर्ती, धूम्रपान र जाँडरक्सीलगायतका मदिराको सेवन नगर्न आग्रह गरिएको थियो । वडा कार्यालयले जारी गरेको सूचनाको अवज्ञा गरेमा नियमानुसार कारबाही हुने चेतावनी पनि दिइएको छ । सुर्तीजन्य पदार्थ ऐनले नै सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नपाइने र गरेमा जरिवाना हुने व्यवस्था रहेको छ । काठमाडौं महानगरपालिकाले पनि सार्वजनिक स्थलमा धूम्रपान प्रयोग गर्न नपाइने नियम चालू आवदेखि कार्यान्वयनमा ल्याएको छ । वडाको सार्वजनिक क्षेत्रमा धूम्रपान र मद्यपान प्रयोगमा निषेध गरेपछि यसपटकको दसैँमा दुर्घटनामा कमी आएको वडाध्यक्ष न्यौपानेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।




प्रतिक्रिया