+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग र वाणिज्य दर्ता घट्दै

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट जिल्लामा उद्योग व्यवसाय स्थापनाका लागि आवश्यक पूर्वाधार हुँदाहुँदै पनि उद्योग र वाणिज्य फर्म दर्ता गर्नेको सङ्ख्या बर्सेनि घट्दै गएको छ । दर्ता भएका उद्योग र वाणिज्यतर्फका फर्म बैंकबाट ऋण र अनुदान लिन मात्रै भइरहेका छन् । जिल्लामा स्थानीय सीप, स्रोत र जनशक्ति पर्याप्त हुँदाहुँदै पनि अधिकांश उद्योग दर्ताअनुसार सञ्चालनमा नआउँदा परनिर्भरता बढिरहेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटमा तीन आवको उद्योग र वाणिज्य फर्म दर्ता हुने क्रम घट्दै गएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव ०७६/७७ सम्म उद्योगतर्फ आठ हजार ६ सय २१ र वाणिज्यतर्फ ६ हजार चार सय १८ वटा रहेको थियो भने आव ०७७/७८ मा उद्योग दुई सय ७२, वाणिज्य दुई सय ६६, आव ०७८/७९ मा उद्योग दर्ता दुई सय पाँच, वाणिज्यतर्फ एक सय ८९ वटा थपिएका छन् । आव ०७७/७८ मा भन्दा आव ०७८/७९ मा उद्योग दर्ता ६८ वटा कम रहेको छ । जिल्लामा आव ०७८/७९ सम्म उद्योग दर्ताको सङ्ख्या नौ हजार ९८ र वाणिज्य फर्म दर्ताको सङ्ख्या ६८ सय ७३ वटा रहे पनि केही उद्योग र वाणिज्य फर्मबाहेक अधिकांश रुग्ण रहेको कार्यालय प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । गत आवमा उत्पादनमूलक १०, कृषि तथा वनजन्य एक सय २९, पर्यटन १४ र सेवामूलक १६ उद्योग दर्ता भएकोसमेत उनले बताए । त्यसैगरी, गत आवमा वाणिज्यतर्फ किराना पसल १८, हार्डवेयर चार, मनिट्रान्सफर दुई, भाँडाकुँडा पसल सात, स्टेसनरी तथा किताब पसल तीन, कपडा पसल १९, कस्मेटिक तीन, तरकारी दुई, दुग्ध सङ्कलन र बिक्री एक, सप्लायर्स र ट्रेड सेन्टर ६५, ई-मोबाइल कम्प्युटर पाँच, सुनचाँदी ६, विविध ५४ फर्म दर्ता भएको कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ । कार्यालयले आव ०७८/७९ को उद्योग, वाणिज्य तथा अन्य तर्फको कुल राजस्व एक करोड १८ लाख ६ हजार चार सय १० उठाउन सफल भएको छ । कार्यालयले उद्योग प्रशासनतर्फको कुल राजस्व ६३ लाख ९१ हजार एक सय १० र वाणिज्य प्रशासनतर्फको कुल राजस्व ५३ लाख ९४ हजार तीन सय रुपैयाँ उठाएको थियो ।

जिल्लामा दर्ता हुने उद्योगको सङ्ख्या बर्सेनि घट्दै गइरहेको छ । सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन र रोजगारीको क्षेत्र फराकिलो गर्न भने नसकेको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख भुसालले बताए । उनले भने – कार्यालयमा उद्योगको सङ्ख्या विगतमा धेरै थियो । तर, दर्ता भएका उद्योगका सञ्चालकले काम नगर्ने र दर्ता भएका फर्मलाई बेवारिसे छोड्ने गरेको पाइन्छ । विगतदेखि नै उद्योगको सङ्ख्या बढे पनि उद्यमी भने बढेका छैनन् । दर्ता भएका कतिपय उद्योगमा सरकारी पक्षबाट अनुदान प्राप्त भइसक्दा पनि काम नभएको पाइएको छ । सरकारी सेवा, सुविधा र अनुदानका लागि मात्र उद्योग दर्ता गर्ने लहर केही वर्षदेखि चलिरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । जिल्लामा दर्ता भएकामध्ये केही मात्र उद्योग सञ्चालनमा रहेकोसमेत उनले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गर्दा कतिपय उद्योगले काम नगरेको पाइएको कार्यालयका प्रमुख भुसालले बताए । कतिपयले उद्योग नवीकरण नगर्ने र फेरि अर्को उद्योग खोल्ने गरेकोसमेत उनले खुलासा गरे । कार्यालयको क्षेत्र बढे पनि कर्मचारीको अभावमा बजार अनुगमन र उद्योग तथा व्यवसायको अवस्थाको जानकारी लिन नसकेको उनले स्वीकार गरे । अनुगमन दर्ता भएका उद्योगमध्ये पाँच प्रतिशत उद्योग मात्र नवीकरण गरेर सञ्चालन भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह