+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचन देश निर्वाचनमय, सत्तागठबन्धन र काङ्ग्रेसमा खटपट, एमालेको सर्वसम्मत उम्मेदवारी नुवाकोटमा ६ पदका लागि ६६ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचन                          देश निर्वाचनमय, सत्तागठबन्धन र काङ्ग्रेसमा खटपट,  एमालेको सर्वसम्मत उम्मेदवारी नुवाकोटमा ६ पदका लागि ६६ जनाको मनोनयन दर्ता
त्रिशूली प्रवाह
३ साल अगाडी

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन प्रक्रिया सुरु भएसँगै देश निर्वाचनमय बनेको छ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन दर्ता आइतबार सम्पन्न गरिसकेको छ । मनोनयन दर्तासँगै देश निर्वाचनमय भएको हो । ०६२/६३ को जनआन्दोलनले प्राप्त गरेको लोकतान्त्रिक संविधान २०७२ जारीपछि ०७४ मा पहिलो स्थानीय, सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भएको थियो । दोस्रो स्थानीय तह निर्वाचन गत वैशाख ३० गते सम्पन्न भइसकेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको दोस्रो सङ्घ र प्रदेशको दोस्रो निर्वाचनले लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । मुलुकमा लोकतन्त्र स्थापना भएको १६ वर्ष पुगेको छ । तैपनि नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन् । १६ वर्षअघि लोकतन्त्र स्थापना हुँदै गर्दा आमनागरिकले समृद्धिको सपना देखेका थिए । ती आज पनि अधुरै छन्, अपूरै छन्, त्यसका लागि पनि अब हुने निर्वाचनको महत्व रहेको छ । निर्वाचनमा देश र जनताप्रति समर्पित दललाई निर्वाचित गराउन सके जनताको समृद्धिको अपेक्षा पूरा हुनेछ ।

आइतबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मनोनयनपत्र दर्ता गरेसँगै निर्वाचनको छाल उर्लेको छ । सङ्घीय व्यवस्थापिकाको तल्लो सदनको एक सय ६५ निर्वाचन क्षेत्र र सातवटै प्रदेशका तीन सय ३० जना प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई हजार पाँच सय दुई र प्रदेश सभाका लागि तीन हजार चार सय ३६ जनाको उम्मेदवारी परेको छ । नुवाकोटमा पनि आइतबार राजनीतिक दल र स्वतन्त्रले दुईवटा सङ्घीय क्षेत्रको सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि ६४ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धनको सहमतिअनुसार नुवाकोटमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गर्ने निर्णयलाई काङ्ग्रेस र माओवादीले लत्याएपछि खटपट सुरु भएको छ । काङ्ग्रेस र माओवादीले समाजवादीलाई कुनै स्थान नदिएपछि समाजवादी गठबन्धनबाट बाहिरिने तयारी गरिरहेको छ । गठबन्धनको सहमति लत्याउँदै नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) र (ख) मा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा भने गठबन्धनको सहमतिअनुसार काङ्ग्रेस र माओवादीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको सहमतिअनुसार काङ्ग्रेसलाई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर (ख) भागमा परे पनि काङ्ग्रेसले निर्वाचन क्षेत्र नम्बर २ को दुवै प्रदेशमा उम्मेदवारी दर्ता गरेपछि माओवादी र समाजवादीको भाग खोसिएको हो । काङ्ग्रेसले गठबन्धनको सहमति लत्याएपछि माओवादीले प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश (क) र (ख) दुवैमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले गठबन्धनको सहमतिअनुसार भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुल ६ पदका लागि नुवाकोटमा ६६ जनाको उम्मेदवारी परेको छ । आइतबार दुई प्रतिनिधिसभा र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा नौ महिलासहित ६६ जनाको उम्मेदवारी परेको हो । ६६ जनामध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर १, २ र प्रदेश सभाको चारवटा क्षेत्रमा १५ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशमा निर्वाचनका लागि नुवाकोटमा दुई सय ८८ मतदान केन्द्र र एक सय ३२ मतदानस्थल रहेका छन् भने दुई लाख ३९ हजार सात सय २६ जना मतदाताले मतदान गर्ने जानकारी जिल्ला निर्वाचन कार्यालयले दिएको छ । जिल्लाको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभामा नेकपा एमाले एक्लै निर्वाचनमा उत्रेको छ भने काङ्ग्रेस, माओवादी र समाजवादीको गठबन्धन रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बद्री मैनाली, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, राप्रपाका सुदर्शन सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रद्युम्न महत क्षेत्री, राप्रपा नेपालका पुष्पा न्यौपाने, जनसमाजवादी पार्टीका निमेश तामाङ, जनता समाजवादी पार्टीका देवराज घिमिरे, नेकपा मालेका केशवप्रसाद उप्रेती, नेमकिपाका रवीन्द्र डङ्गोल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मी रसाइली, नेपाली काङ्ग्रेस बिपीका श्यामबहादुर गुरुङ, हाम्रो पार्टी नेपालका सफलता बोगटी, मङ्गोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र तामाङ र सरोज गिरी, राजकुमार बस्नेत, निर्मल लामिछाने, जितसिंह ठकुरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर (क)बाट नेकपा एमालेका सुशीलकुमार खड्का, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङसहित सात पार्टीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट नेकपा एमालेका पूर्णलाल श्रेष्ठ, गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका रमेश महतसहित सातवटा साना दल र दुईजना स्वतन्त्रले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेबाट नारायणप्रसाद खतिवडा, गठबन्धनका तर्फबाट काङ्ग्रेसका अर्जुननरसिंह केसी, राप्रपाबाट झनक प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे, नेककिपाबाट गणेशमान बटाकक्षी, लोकतान्त्रिक समाजवादी पार्टीबाट धनकुमारी सुनार, मङ्गोल नेसनल अर्गनाइजेसनबाट प्रेममाया तामाङ, जनसमाजवादी पार्टीबाट हिमाल जोशी र सुदर्शन पुडासैनी, विनोदकुमार तामाङ, गायत्री दाहालले स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका केशवराज पाण्डे, नेपाली काङ्ग्रेसकी गीता अमात्य, नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनी, नेमकिपाका श्याम लामा, आमूल परिवर्तन नेपाल पार्टीका प्रेमबहादुर नेपाली, राप्रपाका दीपेश लामा, मङ्गोल नेसनल अर्गनाइजेसनका चन्द्र तामाङ, नेपाली काङ्ग्रेस बिपीका ईश्वर बोगटी र देवेन्द्र न्यौपाने, भरत कुमाल, शम्भुप्रसाद पनेरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रदेश सभामा नेकपा एमालेका विजयसिंह लामा तामाङ, नेपाली काङ्ग्रेसका बहादुरसिंह लामा तामाङ, राप्रपाका रणप्रसाद न्यौपाने, मङ्गोल नेसनल अर्गनाइजेसनका दिलमान तामाङ, हाम्रो नेपाल पार्टीका वसन्त सापकोटा र सिंगराज लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह