विदुर, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी) प्रहरीको तालिम नुवाकोटमा सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार नुवाकोटमा छनोट भएका चार सय ५० महिला र एक हजार ७० पुरुष गरी एक हजार पाँच सय २० जना म्यादी प्रहरीलाई तालिम दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ रूपक खड्काले जानकारी दिए । गत असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाको आठ स्थानमा तालिम सञ्चालन भइरहेकोसमेत उनले बताए । भर्ना प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचनस्थलमा परिचालन गर्ने तयारी गरिएको छ । म्यादी प्रहरीलाई सुरक्षाको दृष्टिले अतिसंवेदनशिल निर्वाचन केन्द्रमा नौजना, संवेदनशील निर्वाचनस्थलमा ६ जना र समन्वय निर्वाचनस्थलमा पाँचजना खटाउने तयारी भएको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ । म्यादीमा भर्ना भएकाले ४० दिन निर्वाचन सुरक्षामा खट्नुपर्नेछ । त्यसबापत उनीहरूले एकमुस्ट ५१ हजार एक सय ६० रुपैयाँ पाउनेछन् । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरीले ड्रेस, जुत्ता, सिट्ठी, लौरो प्रयोग गर्न पाउनेछन् । निर्वाचनका बेला मतदाताको लाइन व्यवस्थापन तथा प्रहरीको सहयोगीको रूपमा परिचालन गरिनेछ । तालिम सकिएसँगै कात्तिक ९ गतेदेखि म्यादी प्रहरीलाई मतदानस्थलको सुरक्षामा परिचालन गरिने नुवाकोट प्रहरीले जानकारी दिएको छ




प्रतिक्रिया