कोलनी, १६ वर्षअघि स्थापना भएको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका-९ डिहीबजारको १५औँ वार्षिक साधारणसभा गत महिना सम्पन्न भएको छ । उक्त साधारणसभाले निर्माण सम्पन्न भएको बहुउद्देश्यीय भवन निर्माणको खर्च विवरण अनुमोदन गरेको छ ।
सहकारीको १५औँ साधारणसभा असोज ८ गते आफ्नै भवनमा सम्पन्न भएको हो । उक्त साधारणसभाले भवन निर्माण उपसमितिका संयोजक शिवप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदनसहित पारित गरेको छ । सहकारीको स्वामित्वमा रहेको नौ आना तीन पैसा क्षेत्रफलको जग्गामा भूमिगत तलासमेत गरी पाँच तलाको सुविधासम्पन्न व्यावसायिक भवन निर्माण गरी गत असारदेखि सहकारीले उक्त भवनबाट कारोबार सञ्चालन गरिरहेको छ । दुई तला लिफ्टसमेत रहेको उक्त भवनको निर्माणमा एक करोड ८१ लाख ८२ हजार आठ सय १७ रुपैयाँ खर्च भएको भवन निर्माण उपसमितिका संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।
उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष बाबुराम अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार महिला पाँच सय ६९ र पुरुष ६ सय ९२ गरी जम्मा सेयर सदस्य एक हजार दुई सय ६१ रहेको छ । सहकारीको कुल सेयरपुँजी दुई करोड ५८ लाख २८ हजार पाँच सय रहेको छ । सहकारीले गत आ.व. ०७८/७९ मा विभिन्न शीर्षकमा ६ करोड २६ लाख ६९ हजार नौ सय १४ बचत गरी दुई सय १० जना सदस्यलाई ६ करोड ३४ लाख ५० हजार दुई सय २४ ऋण लगानी गरेको थियो । १० जना कर्मचारी कार्यरत सहकारीले आर्थिक कारोबारको सेवा आधुनिक प्रविधियुक्त बनाएको छ । सहकारीले सयरपुँजी बर्सेनि वृद्धि गर्दै लैजाने नीतिअनुसार आ.व. ०७७/७८ को भन्दा आ.व. ०७८/७९ मा २५ प्रतिशत वृद्धि गरी ५० लाख ७४ हजार थपेको छ ।
सहकारी संस्थामा बाबुराम अधिकारी अध्यक्ष रहेको नौ सदस्यीय सञ्चालक समितिमा केदारप्रसाद रिजाल उपाध्यक्ष, उमंगमान शाक्य सचिव, यादव अधिकारी कोषाध्यक्ष र पर्शुराम अर्याल, माधवप्रसाद अधिकारी, नवीन प्रधान, रामकुमार रिजाल र सिर्जना गुरुङ सदस्य रहेका छन् । सहकारीको लेखा समितिमा पुस्कर सापकोटा संयोजक र शर्मिला श्रेष्ठ, नवीनकुमार डङ्गोल सदस्य रहेका छन् । सहकारीको कर्जा उपसमिति केदारप्रसाद रिजाल कर्जा उपसमितिको संयोजक सुदीप श्रेष्ठ र गोकर्ण थपलिया सदस्य रहेका छन् । सहकारीको वरिष्ठ सल्लाहकारमा शिवप्रसाद अधिकारी, सल्लाहकारमा मानबहादुर बानियाँ, ध्रुवप्रसाद रिमाल, कृष्णप्रसाद अधिकारी, सिए सरोज अधिकारी र हस्तबहादुर बोगटी सल्लाहकार रहेका छन् ।




प्रतिक्रिया