+
Search

ताजा अपडेट +

पपुलर +

उज्यालो पर्वमा उज्यालो भविष्य खोजौँ

उज्यालो पर्वमा उज्यालो भविष्य खोजौँ
त्रिशूली प्रवाह
३ साल अगाडी

नेपाली मात्रको उज्यालो पर्व तिहारको आगमन हुँदै छ । आउँदो हप्तादेखि तिहार पर्व सुरु हुन्छ । तिहारसँग हाम्रो धार्मिक विश्वास जे-जे जोडिए पनि तिहार उज्यालोको पर्व हो । किंवदन्तीको माला जति लामो भए पनि तिहारको उज्यालोलाई राम्रै मान्छन् र सबै उज्यालोकै पछि लाग्छन् । अहिले हाम्रो देशलाई उज्यालोतर्फ लैजाने सङ्घ र प्रदेशको निर्वाचन हुँदै छ । देशलाई प्रगतितर्फ लैजाने कि यथास्थितिमा रहन दिने अर्थात् योभन्दा पनि काम नलाग्ने देश बनाउने नेपालीको काँधमा आएको छ । विगतको अँध्यारोलाई पन्छाउँदै अघि बढ्न निर्वाचनमा सक्रिय सहभागिता आवश्यक छ । त्यसका लागि देश र जनताको पक्षमा अहोरात्र खटिनेलाई निर्वाचनमा निर्वाचित गर्न सकिएन भने फेरि पाँच वर्ष पछुताउनुपर्नेछ । संसारका हाम्रोभन्दा पछि लोकतन्त्र अर्थात् जनताको शासन सुरु भएमा देशले समृद्धिमा गरेको सफलतालाई स्मरण गरौँ । यो उज्यालो पर्वले मङ्सिर ४ गते हुन लागेको सङ्घ र प्रदेश निर्वाचनबाट निर्वाचित प्रतिनिधिले नेपालीको उज्यालो भविष्य ल्याउने अपेक्षा गरौँ

जनताले आफ्नो प्रतिनिधि छान्न पाउने र छानेको जनप्रतिनिधिले जनतासँग गरेको वाचा पूरा गर्ने चक्र नै लोकतन्त्र हो । लोकतन्त्रमा जनमतको कदर गर्न जनप्रतिनिधिले जनताको अपेक्षाको परिमाण आउने गरी कार्ययोजनासहित प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ । शासकको भूमिकामा होइन, सेवकको भूमिकामा शासन सञ्चालन हुनुपर्छ । जनताले जनताद्वारा र जनताका लागि गरिने उत्थानको अभ्यास नै लोकतन्त्रको मर्म हो । नेपालमा २००७ मा प्रजातन्त्र आयो ०१७ सालमा प्रजातन्त्रको गतिमा रोकावट भयो । प्रजातन्त्रप्रेमी परिपक्व नहुँदै तत्कालीन शासकले आफ्नो अस्तित्व कायम गर्न मौका खोज्नु नै ०१७ सालको नियति हो भन्ने गरिएको छ । विश्व परिवेशमा एकदलीय शासन पतनतिर उन्मुख भएपछि ०४६ सालमा नेपालमा लोकतन्त्रको उदय भयो । ०७२ मा संविधानसभाले संविधान बनाएपछि लोकतन्त्रको जग अझै बलियो भएको आभास भएको छ । सङ्घीय शासन व्यवस्थामा सङ्घ, प्रदेश र स्थानीय तह रहेको व्यवस्था संविधानमा रहेको छ । स्थानीय शासन व्यवस्थालाई घरदैलोको सरकार भन्ने गरिएको छ ।

विश्व परिवेशमा प्रायः सङ्घ र प्रदेश दुई तहको शासन व्यवस्था उल्लेख भएको पाइन्छ । नेपालमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको शासन व्यवस्था संविधानमा व्यवस्था गरिएको छ । स्थानीय तहलाई कानुन बनाउने प्रारम्भिक न्यायिक निरुपण गर्नेजस्ता अधिकार रहेको छ । नेपालमा दोस्रो स्थानीय तह निर्वाचन भई नयाँ जनप्रतिनिधिले स्थानीय तहको वागडोर सम्हालिसकेका छन् । सङ्घ र प्रदेशको दोस्रो निर्वाचन भने मङ्सिर ४ गते हुँदै छ । नयाँ संविधान कार्यान्वयनसँगै देशले नयाँ फड्को मारिरहेको छ । देशमा राजनीतिक स्थिरता र समृद्धिका लागि कार्य हुन सक्यो भने मात्र देशमा उज्यालो फैलिनेछ । देशलाई सधैँ सङ्क्रमणकालमा राख्न चाहने फेरि सल्बलाइरहेका छन् । तिनीहरूलाई तिहारको उज्यालोले लपेटौँ । २००७ सालदेखि अहिलेसम्म हामी नेपाली सङ्क्रमणकाल छ भनी केही नगरी बसिरहेका छौँ । अहिले राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि फेरि धमिलो पानीमा माछा मार्ने प्रवृत्ति दलमा देखिएको छ । यो हुनु देशका लागि दुर्भाग्य हो ।

अझै दिशाविहीन अवस्थामा देशको शासन चलिरहेको छ । देशको विकास के होला । सधैँ अभाव, अविकासमा कतिञ्जेल हामी रुमल्लिने ? छिमेकका देश विश्वका शक्तिसम्पन्न भइसक्दा पनि हामी भने आफैँ कहिले धर्मका नाममा, कहिले जातका नाममा, कहिले राजनीतिमा विभाजित भइरहेका छौँ । हामी नागरिक अधिकारको मात्र कुरा गरिरहेका छौँ । यो नागरिक अधिकारको कुरा गरिरहँदा आर्थिक अधिकार ओझेल परेको कसैले पत्तै पाएको छैन । हो, नागरिक अधिकार मुख्य हो । यसो भन्दैमा आर्थिक अधिकारका लागि काम नै नगरी नागरिक अधिकारले मात्र देश सम्पन्न हुन सक्दैन । मुखमा माड लाग्नका लागि आर्थिक विकास नै गर्नुपर्छ । त्यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हो । राजनीतिमा सबै चिज जोडिने भएकाले अबको राजनीति देशको समग्र उज्यालोका लागि गरिनुपर्छ । सीमित घेरा, समूह, पार्टी, जात र धर्मभन्दा माथि उठेर हिँड्नुपर्छ । देश आत्मनिर्भरतर्फ उन्मुख हुन सक्नुपर्छ ।

सधैँभरि देशलाई अन्योलमा राखिरहने, भड्खालोमा जाकिरहने हो भने देश अझै अधोगतिमा जानेछ । देशका सक्षम युवा धमाधम बिदेसिइरहँदा अहिलेको यो युवा पुस्ता सकिएपछि यो रूपमा भोलिको पुस्ता अवश्य रहँदैन । अहिले युवा जनशक्ति धेरै छ । यसलाई उपयोग गर्न नसके भोलिको युवा पुस्ता पक्कै युवाको भन्दा वृद्ध र बालबालिका बढी हुने दिन आउँछ । जन्मदर घट्दै गएको कारण भोलि वृद्ध धेरै भएको समय आउन टाढा छैन । यसैले यो युवा समूहलाई परिचालन गरी राज्यले धेरै लाभ लिने बेला यही हो । अब पनि राजनीतिको ह्रस्व–दीर्घमा अल्झिने हो भने हामी कहीँ पुग्दैनौँ । देशले केही पाउँदैन । मात्र सक्षम युवा गुमाउँछ । यो पुस्ताले चाख्न पाउने विकासको गति गुमाउँछ । यो उज्यालोको पर्वले हामी सबैलाई उज्यालोमा हिँड्न प्रेरित गरोस् । नेताहरू देशलाई उज्यालोमा हिँडाउन एकजुट होऊन् । सबैमा तिहारको शुभकामना । राजनीतिक नेतृत्व तहमा रहेकाको सद्बुद्धि पलाओस् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह