लाँकुरीभञ्ज्याङ, नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता तेजबहादुर तामाङ (रमेश)ले ३८ लाख रुपैयाँभन्दा बढीको जग्गा दान गरेका छन् ।
उनले स्वास्थ्यचौकी, प्रहरी कार्यालय र विद्यालयलाई तीन कित्ता जग्गा खरिद गरेर दान गरेका हुन् । तीनवटै कार्यालयलाई लालपुर्जासहित हस्तान्तरण गरिएको जग्गाको मूल्य ३८ लाख रुपैयाँभन्दा बढी रहेको स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिका-३ मा कार्यालय स्थापना गरेको प्रहरी चौकीका लागि दुई रोपनी जग्गा दान गरेका हुन् । गाउँपालिका कार्यालयनजिकै कार्यालय स्थापना गरी बसेको प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि आफ्नै जग्गाको आवश्यकता परेपछि उनले व्यक्तिगत लगानीमा जग्गा खरिद गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरेका हुन् । उक्त जग्गाको मूल्य ६ लाख रुपैयाँभन्दा बढी रहेको पञ्चकन्या प्रहरी चौकीले जनाएको छ ।
पञ्चकन्या स्वास्थ्यचौकीलाई भवन निर्माणका लागि गाउँपालिका अध्यक्ष तामाङले पाँच रोपनी जग्गा दान गरेका छन् । उक्त जग्गाको मूल्य २४ लाखभन्दा बढी रहेको बताइएको छ । गाउँपालिका अध्यक्ष तामाङले वडा नं. ३ स्थित पञ्चकन्या माविलाई भवन निर्माणका लागि झन्डै नौ लाख रुपैयाँको जग्गा दान गरेका हुन् । विद्यालय आसपासमा रहेको आठ लाख मूल्यबराबरको ६ रोपनी १२ आना जग्गा अन्य व्यक्तिसँग खरिद गरेर विद्यालयकै नाममा अध्यक्ष तामाङले पास गरिदिएको विद्यालयले जानकारी दिएको छ । विद्यालय, प्रहरी तथा स्वास्थ्य कार्यालयलाई व्यवस्थित र थप प्रभावकारी बनाउन आफ्नोतर्फबाट सहयोग गरेको अध्यक्ष तामाङले बताए । सार्वजनिक जमिनको संरक्षणमा आफू सचेत रहेको र संवेदनशील निकायलाई परेको जग्गाको अभाव टार्न निजी लगानीमा सहयोग गरिएको उनले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।




प्रतिक्रिया