मङ्सिर ४ गते तोकिएको सङ्घ तथा प्रदेशको निर्वाचनका लागि नुवाकोटमा गठबन्धन दलहरूले उम्मेदवार परिचयात्मक कार्यक्रको सुरुवात गरेका छन्
दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी निर्माण गरी उम्मेदवार परिचयात्मक कार्यक्रमको सुरुवात गरेको हो । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने अरुण र क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति राजु थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटीले दुईवटै दलको नेता–कार्यकर्तालाई निर्वाचन अवधिभरमा विभिन्न जिम्मेवारी तोकेर निर्वाचनलाई सम्पन्न गर्ने काममा जुटेको क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटीका संयोजक पुष्प लामिछानेले बताए । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट बनेका उम्मेदवारलाई निर्वाचित गराउन हाल परिचयात्मक कार्यक्रमको सुरुवात भएको छ । सबै स्थानीय तहमा निर्वाचन आचारसंहिताले तोकेअनुसारको २५ जनाभन्दा कम कार्यकर्ताको उपस्थितिमा उम्मेदवार गाउँगाउँ छिर्न थालेका छन् । हाल गठबन्धन दलका उम्मेदवारले नयाँ चुनावी रणनीतिसमेत तय गरेको निर्वाचन परिचालन कमिटीले जनाएको छ । सम्बन्धित स्थानीय तह वा वडामा पुग्दा त्यस वडाबाहेकका अरू कार्यकर्ता सहभागी नहुने जनाएको छ । आचारसंहिताका कारण भिड कम गर्न सम्बन्धित स्थानीय तह वा वडाको मात्रै मतदातासँग भेटघाट गर्न उम्मेदवार गाउँगाउँ छिर्न थालेका छन् ।
दुई प्रतिनिधिसभा र चार प्रदेश सभा निर्वाचन क्षेत्रका गठबन्धनतर्फका उम्मेदवार पुरानै अनुहार र विकासप्रेमी भएको भन्दै मतदातासमेत उत्साहित भएको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटीका संयोजक नेपाली काङ्ग्रेस जिल्ला उपसभापति राजु थापाले दाबी गरेका छन् । गठबन्धन दलले नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री हितबहादुर तामाङ, क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (क)मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्वकृषि राज्यमन्त्री एवम् बागमती प्रदेश निवर्तमान उपसभामुख राधिका तामाङ, प्रदेश (ख)मा नेपाली काङ्ग्रेस जिल्ला सभापति रमेशकुमार महतलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश (क) मा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् पूर्वजिल्ला पञ्चायत (२०४३) का उपप्रधानपञ्च रामप्रसाद ढुङ्गाना, प्रदेश (ख) मा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य, पूर्वसांसद बहादुरसिङ लामा तामाङलाई उम्मेदवार बनाएको छ । गठबन्धन दलका सबै उम्मेदवार अहिले निर्वाचन आचारसंहिताअनुसार चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुगेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटीका संयोजक लामिछाने अरुणले बताए ।




प्रतिक्रिया