आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको चुनावी सरगर्मी नुवाकोटमा बढेको छ । दल तथा स्वतन्त्र उम्मेदवारले आ-आफ्नो जित सुनिश्चित बनाउन आ-आफ्ना प्रतिबद्धता तथा एजेन्डाको प्रचार-प्रसारलाई तीव्रता दिइरहेका छन् । राजनीतिक दलले आफ्ना उम्मेदवारलाई जिताउन योजना बनाएर घरदैलो र भेटघाटलाई बाक्लो बनाइरहेका छन् ।
नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभा १ को प्रदेश सभा क्षेत्र नम्बर (क) मा गठबन्धनको तर्फबाट राधिका तामाङ र नेकपा एमालेका सुशीलकुमार खड्काबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस जिल्ला सभापति रमेशकुमार महत र एमालेका बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठ चुनावी मैदानमा छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य नारायणप्रसाद खतिवडा र गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी चुनावी मैदानमा रहेका छन् । उनीहरू दुवैले विगतमा पनि प्रतिस्पर्धा गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा प्रतिस्पर्धा गरेका केसीलाई खतिवडाले गत निर्वाचनमा पराजित गरेका थिए । केसीले ०३८ देखि हालसम्म लगातार निर्वाचन लडेका छन् । ०३८, ०४३, ०५१, ०५६, ०६४, ०७० र ०७४ को निर्वाचनमा उम्मेदवार बनेका केसी ०३८, ०४८, ०५१ र ०७० मा निर्वाचित हुन सफल भएका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य (क)मा नेकपा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका सदस्य रामप्रसाद ढुङ्गाना चुनावी प्रतिस्पर्धामा रहे पनि यो प्रदेशमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेकी गीता अमात्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनीको उम्मेदवारी कायम रहेको छ । यो प्रदेशमा गठबन्धनबीचको खटपट भुसको आगोझैँ फैलिएको छ । काङ्ग्रेसीे उम्मेदवार गीता अमात्यले प्रेस विज्ञप्ति प्रकाशित गरेर गठबन्धनकै उम्मेदवारलाई सहयोग गर्न अपिल गरे पनि काङ्ग्रेसका केही नेता र अधिकांश काङ्ग्रेसका मतदाताले माओवादी केन्द्रका उम्मेदवारलाई प्रदेशमा भोट नदिने रणनीति बनाएका छन् । नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनी नुवाकोटमा गठबन्धन नरहेकाले काङ्ग्रेस र माओवादीसँग मित्रवत प्रतिस्पर्धा गर्न मैदानमा उत्रेका छन् ।
त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख) सदस्यका लागि नेकपा एमालेका प्रदेश कमिटीका सदस्य विजयसिंह लामा तामाङ र गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । तामाङ बाहुल्य प्रदेश रहेको यो क्षेत्रमा तामाङको भोट जसले बढी लिन सक्छ उसले जित्ने पक्का छ । गठबन्धनको केन्द्रीय नेतृत्वको सहमतिअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) नेकपा माओवादीको भागमा र प्रतिनिधिसभाको क्षेत्र नम्बर २ को प्रदेश सभा (क) नेकपा एकीकृत समाजवादीको भागमा रहेको थियो । काङ्ग्रेसले दुवै प्रदेश सभामा उम्मेदवार दिएपछि गठबन्धन तोडिएको थियो । तैपनि गठबन्धनरत तीन दल गठबन्धन कायम रहेको प्रचार-प्रसार गर्न आफूअनुकूल प्रचारमा तल्लीन रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेपाली काङ्ग्रेसले बहादुरसिंह लामालाई टिकट दिए पनि उनले उक्त क्षेत्रबाट गीता अमात्यलाई उम्मेदवार बनाएर आफू प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तादेखि नै गठबन्धन दलबीच असमझदारी भएपछि काङ्ग्रेसलाई माओवादी केन्द्र र समाजवादीले विश्वास गर्ने वातावरण नहुँदा दुवै प्रदेश सभामा माओवादीले र प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभाको (क)१ मा समाजवादीले उम्मेदवारी दर्ता गराएको थियो । नेपाली काङ्ग्रेसका बहादुरसिंह लामाले नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि राममाया बोगटीको उम्मेदवारी फिर्ता गराउन ठूलै कसरत गर्नुपरेको थियो । राममायाले किन उम्मेदवारी फिर्ता लिइन् भन्नेबारेमा माओवादीका नेता नै अचम्म मानिरहेका छन् । गठबन्धनको निर्णयअनुसार नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) समाजवादीको भागमा परेको थियो ।
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा ठूलादेखि साना राजनीतिक दलले निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न प्रचार-प्रसारको गतिविधि बढाउँदै लागेका छन् । दुई प्रतिनिधिसभा सदस्यका लागि २८ र चार प्रदेश सभा सदस्यका लागि ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । सत्तारूढ गठबन्धनले चुनावी प्रचार-प्रसारका क्रममा मतदातासँग भेटघाट, कार्यकर्ता भेला, निर्वाचन परिचालन समिति गठन र पार्टीको बैठक गरिरहेको नेपाली काङ्ग्रेस नुवाकोटका सचिव वैकुण्ठ मिश्रले जानकारी दिए । नेकपा एमालेले पनि प्रतिनिधिसभाका दुई र प्रदेश सभाको चार उम्मेदवारलाई जिताउन वडा-वडामा र टोलटोलमा छलफल, भेला गरिरहेको उक्त पार्टीका जिल्ला उपाध्यक्ष बुद्धिबहादुर प्रधानले बताए । उनले भने, ‘उम्मेदवारहरू गाउँगाउँ जाने काम भइरहेको छ । क्षेत्रीय, प्रदेशस्तरीय र वडाको भेला भएर सबै तह र तप्काका नेता/कार्यकर्ता चुनावमा केन्द्रित भइरहेका छन् ।’ सत्तारूढ गठबन्धन, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, लोकतान्त्रिक समाजवादी पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेका (बिपी), हाम्रो नेपाल पार्टीलगायतका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । अहिले राजनीतिक दलहरू मङ्सिर ४ गते हुन गइरहेको आवधिक निर्वाचनको चटारोले अस्तव्यस्त देखिन्छन् । सिद्धान्ततः आवधिक निर्वाचन भनेको निर्वाचनमार्फत दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर हो । यो यस्तो अवसर हो जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । तर, विडम्बना केही दलले यो निर्वाचनमा आफ्नो वास्तविका परीक्षण गर्ने अवसर चुकाएका छन् । जनताको प्रतिनिधि छनोटको अधिकार खोसिएको छ । दल पहिचानको आधार केही पनि छैनन् । किनकि राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक-अर्कोको बुई चढेर निर्वाचनको मैदानमा होमिएका छन् । यस आधारमा गठबन्धनका दलहरू जनतामाझ आफ्नो सामथ्र्यको परीक्षण गराउनेतर्फ नभई केवल चुनाव जित्ने र सत्ता प्राप्ति गर्नमा नै लक्षित रहेका छन् ।
गठबन्धनका केसी र एमालेका खतिवडा दोस्रोपटक भिड्दै
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका सदस्यका लागि नेकपा एमालेका नारायणप्रसाद खतिवडा र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका अर्जुननरसिंह केसीबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका खतिवडा र काङ्ग्रेसका केसी दोस्रोपटक चुनावी मैदानमा आएका छन् । प्रतिनिधिसभाका सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन । ०७४ सालको निर्वाचनमा एमालेका खतिवडाले काङ्ग्रेसका केसीलाई पराजित गरेका थिए । यो क्षेत्रमा ती वटा स्वतन्त्रसहित १४ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवार भए पनि एमालेका खतिवडा र काङ्ग्रेसका केसीबीच नै भिडन्त हुनेछ । गत ०७४ को निर्वाचनमा खतिवडाले ३६ हजार आठ सय ९२ र केसीले २६ हजार तीन सय ३५ मत प्राप्त गरेका थिए । केसीलाई खतिवडाले १० हजार मत अन्तरमा पराजित गरेका थिए । गत निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो भने यसपटक काङ्ग्रेस र माओवादीबीच गठबन्धन बनेको छ ।
मतदाताको नजरमा पाण्डे
नुवाकोट जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे व्यवसाय छाडेर राजनीतिमा होमिएका छन् । पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । यस क्षेत्रका मतदाताको नजरमा पाण्डे परेका छन् । तीन दशकको पर्यटन व्यवसाय छाडेका पाण्डेले देश विकास गर्नकै लागि राजनीतिमा आएको बताएका छन् । पुराना नेताहरूसँग चुनावी मैदानमा रहेका पाण्डे नयाँ पुस्ता र विदेशमा रहेका नेपालीको साथ रहेकाले जित सुनिश्चित रहेको बताउँछन् । पाण्डेले काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, समाजवादी, राप्रपा र स्वतन्त्र मत लिने नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार बताउँछन् । पाण्डेले ठूला दलका कार्यकर्ता र मतदातालाई आफ्नो पक्षमा समाहित गराइरहेका छन् । उनको चर्चा यो क्षेत्रका युवा मतदाताबीच बढेको छ ।




प्रतिक्रिया