कात्तिक १८ बाट आमसभा र कोणसभा

  • त्रिशूली प्रवाह
  • ३ कार्तिक २०७९, बिहीबार १३:०८

विदुर, मङ्सिर ४ गते हुने प्र्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदानको १९ दिनअघिसम्म राजनीतिक दल र उम्मेदवारले कोणसभा र आमसभा गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख रहेको छ ।

त्यसो गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने जनाएको छ । निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलको समर्थनमा राखिएको हो । दलका प्रतिनिधिको सहमतिमा समेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडि कात्तिक १८ बाट निर्वाचन प्रचार-प्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचार-प्रसार गर्नेलगायतका क्रिया गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ । उम्मेदवार र राजनीतिक दलले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्नेछन् । अहिले घरदैलोको क्रममा पनि राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी पर्न थालेकाले सबै दललाई निर्वाचन आयोगले सचेत गराएको छ ।