+
Search

ताजा अपडेट +

पपुलर +

आन्तरिक एवम् बाह्य पर्यटक वृद्धि

आन्तरिक एवम् बाह्य पर्यटक वृद्धि
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, शरद ऋतुको आगमनसँगै रसुवाको हिमाली पदयात्रामा आउने आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुन थालेको छ ।

कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आइरहेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । कोरोनाले धराशायी बनेका हिमाली क्षेत्रका होटेल तथा लज अहिले चलायमान हुन थालेका छन् । पदयात्राको क्रममा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकको रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जको अद्यावधिक अभिलेखले पुष्टि गर्छ । चालू आर्थिक वर्षको साउनदेखि यही असोज ३० गतेसम्म आन्तरिक एवम् बाह्य रूपले आवागमन भएका १३ हजार ८४ पर्यटकमध्ये दुई हजार आठ सय ४६ जना महिला रहेको निकुञ्जले जनाएको छ । भ्रमण गर्ने ती महिलामा दुई हजार दुई सय ९७ जना स्वदेशी र पाँच सय ४९ विदेशी रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका वन प्राविधिक नितेन्द्रसिंहले जानकारी दिए । निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अद्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारी परिचालन गर्ने व्यवस्थाले पाहुनाको सङ्ख्या यकिन गर्न सहज भएको हो ।

हिमाली पदयात्राका लागि सुन्दरीजलबाट आउने हेलम्बुतर्फ एउटा र धुन्चे, चन्दनबारीतर्फको अर्काे यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपाटीबाट ठूलोस्याफ्रु हुँदै लाङटाङको क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वादन लिन यही आर्थिक वर्षको साउनदेखि गत असोज २९ गतेसम्म ११ हजार सात सय ५८ नेपाली र एक हजार तीन सय २६ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरेका थिए । प्रतिव्यक्ति नेपालीका लागि एक सय, सार्क राष्ट्रका नागरिकका लागि एक हजार पाँच सय र अन्य देशका नागरिकको हकमा तीन हजार शुल्क लिने कानुनी प्रावधानअनुरूप चालू आवको दुई महिना २९ दिनमा प्रवेश शुल्कबापत ५० लाखभन्दा बढी राजस्व उठेको छ । आगन्तुक पाहुनालाई सफा मौसमको शरद ऋतुमा देखिने हरियाली नागबेली परेका हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली-ओराली भञ्ज्याङ-चौतारी, कुण्ड, ताल, चट्टान, पहाड, छङछङ गरेर झर्ने ठाडो खोल्छा, स्थानीय परिकारको अर्गानिक खाना, लोकल वेशभूषा, स्थानीय तामाङ संस्कृतिको नाचले मनमोहक बनाउने गरेको रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने बताउँछन् ।

पर्यटकको सेवाका लागि धुञ्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङटाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटेल सञ्चालनमा रहेकाले पाहुनालाई खान, बस्न कुनै समस्या नपर्ने पर्यटकीय होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान)ले बताएका छन् । उनले भने, ‘निर्धक्क साथ यात्रा गर्न सम्पूर्ण पाहुनालाई अनुरोध छ ।’ गोसाइँकुण्ड तथा लाङटाङ साथै तामाङ सम्पदामार्गअन्तर्गत गोल्जुङ, गत्लाङ, चिलिमे, नाकथली, थुमन तथा वृद्धिम होमस्टेसम्मको यात्रासमेत रोमञ्चकारी बन्दै गएको र गत्लाङ क्षेत्रमा पुग्ने पाहुनालाई स्थानीय कला-संस्कृतिको साथै नेपाल-तिब्बत युद्धको समयमा पुर्खाले गरेका युद्धको झलकसमेत देखाइने गरेकाले होमस्टेमा वास बस्ने पर्यटकको पहिलो रोजाइ गत्लाङ हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह