- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाको उत्तरी क्षेत्र टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने गरी अहोरात्र खटिइरहेको छ ।
भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीनवटा टर्वाइनबाट क्रमिक रूपले आगामी चैतदेखि परीक्षण सुरु गरिने जानकारी आयोजनाले दिएको छ । चालू आर्थिक वर्षभित्रै तीनवटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जडान गर्न प्राविधिक जुटेका हुन् । भूमिगत रूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमुनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको यो आयोजनाको कुल विद्युत् उत्पादन १११ मेगावाट क्षमताको छ । चिलिमेको निर्मातामध्येका एक सदस्य एवम् रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध-निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको १११ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो ।
रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण ०७९ भित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिई प्राविधिक टोली अहोरात्र खटिरहेको छ । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भएका छन् । उपकरण जडानमा भोइथ इन्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकलका वरिष्ठ महाशाखा प्रमुख ई. महेन्द्रप्रसाद यादवले बताए । भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ सर्चट्याङ्क, पेनस्टक, टेलरेस सुरुङ, भोटेकोसीबाट पानीसँगै सुरुङमा पस्ने बालुवालाई थिग्य्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको रसुवागढी जलविद्युत् कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए । आयोजनाका कार्यकारी निर्देशक छवि गैरेले भने, ‘सबै प्रकारका अवरोध पार गरी पछिल्लो समय एकाग्र रूपमा द्रुतगतिले भएको उपकरण जडान कार्यबाट उल्लेखनीय प्रगति हासिल भइरहेका कारण आगामी चैतदेखि परीक्षणतर्फ केन्द्रित हुने लक्ष्य लिएका छौँ ।’
सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको थियो । आयोजना निर्माणको समयावधि लम्बिएका कारण निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् । ०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारणलाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेरजानेमा प्राविधिकले चिन्ता व्यक्त गरेका छन् । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको विद्युत् हबमा लैजान १० किलोमिटर लामो आन्तरिक प्रसारणलाइनको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको वातावरणविज्ञ तेज साउथले बताएका छन् । रसुवागढी तथा साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राजधानी पु¥याउन राष्ट्रिय प्रसारणलाइन निर्माणको काम हाल जारी छ । नयाँ निर्माण भइरहेको राष्ट्रिय प्रसारणलाइनमा रसुवागढी, साञ्जेन, लाङटाङ खोला, लाङटाङ भोटेकोसी, अपर त्रिशूली-१ समेतका आयोजनाबाट उत्पादन हुने विद्युत् जडान हुनेछ ।
प्रतिक्रिया