तेक्वान्दो क्विन वैद्य युएईमा सम्मानित

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १२:१६

विदुर, नुवाकोट सेवा समाज युएईले तेक्वान्दो क्विन संगिना वैद्यलाई सम्मानित गरेको छ । वैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई युएई समाजले गत आइतबार एक कार्यक्रमबीच सम्मानपत्रसहित सम्मान गरिएको समाजका अध्यक्ष वासुदेव ढुङ्गानाले जानकारी दिए ।

वैद्यले राष्ट्रिय टिमका साथै विभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हाल्दै विभिन्न सफलता हासिल गरेकी थिइन् । नेपालले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेक्वान्दोतर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्नुमा उनको प्रशिक्षणसमेतले ठूलो योगदान गरेको थियो । वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडी हुन् । उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राज गर्दै १० अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेकी थिइन् । नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवनबाट सन्न्यास लिएकी थिइन् ।