निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १२:२१
  • सरस्वती न्यौपाने

धुन्चे, आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अवधिभर रसुवा जिल्लामा मदिरा बिक्री-वितरण गर्न रोक लगाइएको छ । भयरहित, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन कात्तिक २१ गते सोमबारदेखि नै लागू हुने गरी मदिरा बिक्री-वितरण गर्न र खान रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन, मदिरा बिक्री-वितरण तथा सेवन कार्य नगर्न–नगराउनुका साथै नियमविपरीत मदिरा बिक्री-वितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सूचना जारी गर्दागर्दै पनि अटेर गरी नियमलाई पालन नगरी मदिरा बिक्री गरी सेवन गरेर चुनाव अवधिभर होहल्ला गरेको थाहा पाइएमा कडाइका साथ कारबाही हुने बताए । निर्वाचनमा परिचालित सुरक्षाकर्मीले जिल्लाभरि नै मदिरा बिक्री-वितरण र सेवन कार्यको निगरानी गर्ने बताइएको छ ।