+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सरगर्मी उम्मेदवार आश्वासन बाँड्दै, मतदाता प्रश्न सोधेर हायल-कायल पार्दै

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सरगर्मी उम्मेदवार आश्वासन बाँड्दै, मतदाता प्रश्न सोधेर हायल-कायल पार्दै
त्रिशूली प्रवाह
३ साल अगाडी
  • शरण उत्सुक सापकोटा

आजको १० दिनमा दोस्रो प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचनको मिति नजिँकिदै गर्दा पनि मतदातामा उत्साह देखिएको छैन । उम्मेदवारहरूले मतदातालाई आश्वासन बाँड्दै आफ्नो पक्षमा मत तान्नका लागि सक्रिय भएर लागिपरेका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दल र स्वतन्त्र उम्मेदवारलाई मतदाताले प्रश्न सोधेर हम्मे-हम्मे परेका छन् । प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारलाई मतदाताले सोधेको प्रश्नको उत्तर दिन निकै सकस परेको छ । घरदैलोमा मत माग्न आएका उम्मेदवारसँग सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ नपाएको मतदाताले गुनासो गरेका छन् । मतदाताले सङ्घ र प्रदेशका नयाँ अनुहारका उम्मेदवारसँग पाँच वर्षमा गर्ने योजनाको विषयमा र गत निर्वाचनमा विजयी भएका उम्मेदवारलाई यो पाँच वर्ष तपाईंसँग भेट भएन, बोलाएको बेला पनि आउनुभएन, यो क्षेत्रको विकासमा कति काम गर्नुभयो भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरूले मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकिरहेका छैनन् ।

नुवाकोटको प्रतिनिधिसभाको दुई क्षेत्र र प्रदेश सभाको चार क्षेत्रमा सत्तागठबन्धनमा आबद्ध दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, साना दल र स्वतन्त्र उम्मेदवार आ-आफ्ना एजेन्डा लिएर चुनावी कार्यक्रम तथा भेटघाटमा लागिपरेका छन् । तर, मतदाता दल र उम्मेदवारप्रति विश्वास गरेर उत्साहित देखिएका छैनन् । उम्मेदवार भेटघाटमा जाँदा मतदाताले रासायनिक मल खोइ ? महङ्गी नियन्त्रण किन भएन ? बालाजु-ककनी-त्रिशूली सडक स्तरोन्नति किन भएन ? गल्छी-त्रिशूली सडकखण्डको विदुर नगरपालिका क्षेत्रमा मुआब्जाको कारणले काम किन अगाडि बढ्न सकेन ? यसको टुङ्गो कहिले लाग्छ, छहरे-टोखा सुरुङमार्ग निर्माण सुरुवात कहिलेदेखि हुन्छ भनेर ¥याख¥याख्ती पार्ने गरेका छन् । प्रायः उम्मेदवार लाचार बन्दै यसपटक सहयोग गर्न आग्रह गर्दै न्याउरो मुख लाएर फर्किरहेका छन् । कतिपय ठाउँमा मतदाताले उम्मेदवारलाई वास्ता नै नगरेको पनि समाचार आइरहेको छ । जनजीविका र जनसरोकारका विषयका साथै मतदाताले उम्मेदवार तथा पार्टी नेता/कार्यकर्तालाई आश्वासनभन्दा विकास र समृद्धिको योजना ल्याउने कुरामा ग्यारेन्टी सुनिश्चित गर्न माग गरिरहेका छन् । निर्वाचनमा आश्वासन दिने, तर काम नगर्ने, बर्सेनि उही कुरा दोहो¥याउने प्रतिस्पर्धी दल र उम्मेदवारलाई गाली गर्ने प्रवृत्तिले मतदाता निराश बन्दै गइरहेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले बताए । चार दशकदेखि एउटै नेतालाई भोट हाल्नुपर्ने, पार्टीबाट जितेर गएर दल फेरबदल गर्ने, राजनीतिक अस्थिरता ल्याउने कार्यमा संलग्न भएका कारण दलका उम्मेदवारलाई मतदाताले सातो लिने गरेका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा पनि चुनावी माहोल तताउन राजनीतिक दल र उम्मेदवार लागिपरेका छन् । चुनावी गतिविधिप्रति मतदाता विगतको जस्तै उत्साहित हुन नसकेको उम्मेदवार र दलका नेताले नै बताउने गरेका छन् । नुवाकोटमा पाँचदलीय गठबन्धनका उम्मेदवार र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भए पनि नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भने मतदाताले आशातीत चासो राख्ने गरेका छन् । यो क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी (विगत २०३८ सालदेखि) र नेकपा एमालेको प्रदेश कमिटीका सदस्य एवम् निवर्तमान सांसद नारायणप्रसाद खतिवडाबीच कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ । दुवैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले अवरोध सिर्जना गरिरहेका छन् । पाण्डेको मतदाताबीच विशेष चर्चा हुने गरेको छ । पाण्डेले यो क्षेत्रमा सबैभन्दा धेरै काङ्ग्रेस र राप्रपा, त्यसपछि एमालेको मत लिने स्थानीय राजनीतिक विश्लेषक पूर्णलाल श्रेष्ठले बताए । नयाँ उम्मेदवारप्रति मतदाताले आशा गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेको तयारी नपुगेकाले प्रतिस्पर्धामा आउन नसक्नेसमेत उनले बताए । यो क्षेत्रमा गठबन्धन र एमालेको जसरी पनि जित्ने दाउ छ भने राप्रपा र अन्य साना दल तथा स्वतन्त्र उम्मेदवार धरौटी जोगाउने ध्यानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले भने सम्मानजनक मत ल्याउने अवस्था रहेको छ । नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । यो क्षेत्रमा विगत ०७४ निर्वाचनका सहकर्मी बद्री मैनाली र हितबहादुर तामाङबीच रोचक र कडा प्रतिस्पर्धा हुने अवस्था छ । गठबन्धनको तर्फबाट नेकपा माओवादीका नेता हितबहादुर तामाङ र नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनाली चुनावी मैदानमा रहेका छन् । जिल्लाको चारवटै प्रदेश सभातर्फ पनि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश सभामा पूर्णलाल श्रेष्ठ, विजयसिंह लामा, सुशील खड्का नयाँ अनुहार र पहिलोपटक निर्वाचन लडेका हुन् । श्रेष्ठ, लामा, खड्का नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । गठबन्धनको तर्फबाट निर्वाचनको मैदानमा रहेका बहादुरसिंह लामा, रमेश महत, राधिका तामाङ विगतमा निर्वाचनमा उम्मेदवार बनिसकेका व्यक्ति हुन् । गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादीका प्रदेश सभा उम्मेदवार बनेका रामप्रसाद ढुङ्गाना बहुदलीय र गणतन्त्र व्यवस्था आएपछि पहिलोपटक निर्वाचन लडेको भए पनि उनी ०४४ सालमा भएको जिल्ला पञ्चायतको उपसभापतिमा विजयी भएका व्यक्ति हुन् । एमालेका तर्फबाट प्रदेशमा निर्वाचन लडेका केशवराज पाण्डे गत ०७४ को निर्वाचन प्रदेश सभामा चुनाव प्रतिस्पर्धा गरेर विजयी भएका उम्मेदवार हुन् । एउटै प्रदेशबाट ढुङ्गाना र पाण्डे चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा उम्मेदवारले जित्छ भन्नु स्वाभाविक भए पनि पछिल्लो समय दलका नीति, कार्यक्रमलाई विश्वास गरेर जनताले मत हाल्ने अवस्था अहिले नरहेको सामाजिक अगुवा इन्द्रबहादुर पण्डितले बताए । नीति र कार्यक्रमभन्दा पनि को नेता बलियो र कसले परेको बेलामा काम गर्न सक्छ भनेर विगतमा नेताको अनुहार हेरेर भोट हाले पनि यसपटक यस्तो अवस्था नरहेको किस्पाङ गाउँपालिकाका पूर्वजनप्रतिनिधि मेघबहादुर घलेले बताए । नेता सदैव जनताको चौकीदार हुनुपर्ने हो, तर मत हालुञ्जेल मात्र जनप्रेमी लाग्छन्, मत दिएर पठाएपछि आफ्ना नातागोता र आफन्तलाई बाहेक अरूलाई नचिन्ने गरेकाले मतदाताले उम्मेदवारलाई विश्वास गरेर उत्साहित हुन नसकेको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह