विदुर, मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको सङ्ख्या न्यूनीकरण गर्न गरिएको नमुना मतदानमा मत बदरको सङ्ख्या नुवाकोटमा २० प्रतिशतसम्म भएको छ । नुवाकोटमा जिल्ला निर्वाचन कार्यालयले १२ वटै पालिकामा नमुना मतदान गर्दा २० प्रतिशतसम्म मत बदर भएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नमुना मतदान कार्यक्रम जिल्लामा सुरु भइरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा नहुँदा जिल्लामा बदर मतको सङ्ख्या धेरै भएको थियो । आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ नमुना मतदान जिल्लाको सातवटा पालिकामा सोमबारसम्म सम्पन्न भइसकेको छ । जिल्लाको १२ वटै पालिकाको मतदान केन्द्र रहेको मतदानस्थलमा नमुना मतदान गरिने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताए । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, म्यागङ, तारकेश्वर, ककनी, शिवपुरी, लिखु गाउँपालिकामा भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ नमुना मतदानका २० प्रतिशतसम्म मत बदर भएको छ । सातवटा पालिकामा सम्पन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ नमुना मतदानमा म्यागङमा १५, विदुरमा चार, तारकेश्वरमा एक, बेलकोटगढीमा चार, ककनीमा १०, शिवपुरीमा पाँच र लिखुमा चार मत बदर भएको छ । त्यसैगरी, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ विदुरमा पाँच, म्यागङमा १०, तारकेश्वरमा एक, बेलकोटगढीमा नौ, ककनीमा ६, शिवपुरीमा सात, लिखुमा तीन मत बदर भएको छ । त्यसैगरी, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ पनि बदर मतको सङ्ख्या १२ प्रतिशतसम्म रहेको छ । प्रदेशसभातर्फको प्रत्यक्षमा बेलकोटगढी नगरपालिकामा भइको नमुना मतदानमा बदर मतको सङ्ख्या १२ रहेको छ । विदुरमा तीन, म्यागङमा पाँच, तारकेश्वरमा एक, ककनीमा तीन, शिवपुरीमा पाँच, लिखुमा ६ मत बदर भएको छ ।
प्रदेश सभाको समानुपातिकतर्फ बदर मत ९ प्रतिशतसम्म रहेको छ । समानुपातिकतर्फ नमुना मतदानमा विदुरमा चार, म्यागङमा चार, तारकेश्वरमा शून्य, बेलकोटगढीमा चार, ककनीमा ६, शिवपुरमिा पाँच, लिखुमा चार मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी गौतमका अनुसार स्थानीय तहको निर्वाचनको सरदर बदर मतको दर नमुना मतदानको बदर मत दर उस्ता–उस्तै आएको छ । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएकाले पालिकाको समन्वयमा जिल्लाको १२ वटा पालिकाको ८८ वटै वडामा महिला स्वयम्सेविकालाई छनोट गरेर निर्वाचन शिक्षा दिइरहेको उनले बताए । स्वयम्सेविकाले स्थानीय मतदातालाई मतदान प्रक्रिया मतदाता शिक्षाबारे जानकारी गराइरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार नमुना मतदानमा स्थानीयको उल्लेख्य सहभागिता भएको छ । सुरुका दिनमा जसले जता हाले पनि हुन्छ भनेर मतदान गरेका कारण बढी मत बदर भएको उनले बताए । उनले अहिले जिल्लाभरि मतदाता शिक्षालाई विशेष जोड दिएर अनुगमनसमेत भइरहेको बताए । उनले जिल्लामा १२ वटा स्थानीय तहका ८८ वडामा महिला स्वयम्सेविकामार्फत निर्वाचन शिक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउने, बदर मत सङ्ख्या घटाउने, मतदान प्रक्रियाबारे जानकारी गराउने लक्ष्यका साथ सबै पालिकामा नमुना अभ्यास गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ । नमुना मतदानमा मतपत्रको पहिलो हारको पहिलो नम्बरको बढी मत खसेको पाइयो । मतपत्रको पहिलो नम्बरको चुनाव चिह्नमा मत धेरै खसेकाले मङ्सिर ४ गते हुने चुनावमा पनि त्यही अवस्था रहन सक्ने अड्कल गरिएको छ । मतपत्रको पहिलो नम्बरमा रहेको चिह्नलाई चुनाव जित्न सहज हुने पनि नमुना मतदानको परिणामले देखाएको छ । नमुना मतदानको नमुना मतपत्रको पहिलो चुनाव चिह्न नर्स रहेको थियो ।






प्रतिक्रिया