+
Search

ताजा अपडेट +

पपुलर +

वडासदस्य रिजालको पद खारेजीमा

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नेपालको राजनीतिमा फोहोरी र घिनलाग्दो खेल भइरहँदा दलप्रति जनताको वितृष्णा बढिरहेको छ । दलप्रतिको वितृष्णाले निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति जनताले खोजी र चासो दिन थालेका छन् ।

निर्वाचन आएपछि दल फेरबदल गर्नेको सङ्ख्या लामै हुने गरेको नुवाकोट जिल्लामा गत हप्ता विदुर नगरपालिका-८ का एमालेबाट निर्वाचित वडासदस्य श्रीकृष्ण रिजालले नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । काङ्ग्रेसमा प्रवेश गरेका वडासदस्य रिजालको पद खारेजीमा परेको छ । राजनीनितक दलसम्बन्धी ऐन, २०७३ को पहिलो संशोधन ऐन, २०७४ को दफा ३० बमोजिम वडासदस्य रिजालको पद खारेजीमा परेको हो । उक्त दफामा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको स्थानीय तहका सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यही दल त्याग गर्न सक्नेछैन भन्ने उल्लेख छ । निर्वाचनमा माहोल बनाउन दल फेरबदल गराउने र डमी उम्मेदवार उठाउने प्रवृत्ति नुवाकोटमा नौलो भने होइन ।

वडासदस्य रिजाल गत हप्ता एमाले परित्याग गरी नेपाली काङ्ग्रेसमा सार्वजनिक कार्यक्रममा वक्तव्य जारी गरी प्रवेश गरेका थिए । शुक्रबार वडा नम्बर ८ को क्यौरेनीमा आयोजित कार्यक्रममा रिजाल नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । उनलाई गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का उम्मेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य विमला सुवेदी, नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान सभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीलगायतले स्वागत गर्दै काङ्ग्रेसको सदस्यता दिएर प्रवेश गराएका थिए । रिजाल गत स्थानीय निर्वाचन हुनुभन्दा अगाडि राप्रपा परित्याग गरी एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गर्नासाथ वडा नम्बर ८ को वडाध्यक्ष पदको दाबी गरेका रिजाल एमालेबाट वडासदस्यमा उम्मेदवार बनेर विजयसमेत भए ।

पञ्चकन्या सहकारीका पूर्वअध्यक्षसमेत रहेका रिजालले एमाले परित्याग गरी काङ्ग्रेसको सदस्य लिएको पुष्टि भएसँगै एमालेले उनको वडासदस्य पद खारेजीको प्रक्रिया अगाडि बढाएको छ । एमाले जिल्ला कमिटीका उपाध्यक्ष बुद्धि प्रधानले रिजालको वडासदस्य पद खारेजीको प्रक्रिया अगाडि बढाएको बताउँदै यसै हप्ता खारेजी हुने जानकारी दिए । गत स्थानीय निर्वाचनमा विदुर नगरपालिका-८ बाट गठबन्धनको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हरिराम भण्डारीको पद रकम हिनामिना गरेको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले निलम्बन भएको छ । भण्डारी विगतमा शुलक्षणा माविको प्रधानाध्यापक हुँदा रकम हिनामिना गरेको भनी स्थानीयले विशेष अदालतमा मुद्दा हालेका थिए । निर्वाचित भए पनि वडाध्यक्ष भण्डारीलाई विशेष अदालतमा रकम हिनामिनाको मुद्दा विचाराधीन रहेकाले निलम्बन गरिएको विदुर नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह