निर्वाचनअघि नै पाण्डे र तामाङ मुख्यमन्त्रीको चर्चामा

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १२:५१

विदुर, नुवाकोट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) का नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डे र सत्तागठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का उम्मेदवार बहादुरसिंह लामा तामाङको बागमती प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा चर्चा भएको छ । यी दुवै क्षेत्रमा भावी मुख्यमन्त्री भन्दै पाण्डे र तामाङले मतदाताको ध्यान केन्द्रित गरिरहेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल बन्न थालेको नुवाकोटमा उम्मेदवार नेताहरू भोट माग्न घरदैलो पुगिरहेका छन् । सहर र गाउँघरको चियापसलमा साँझ, बिहान मानिसको जमघट हुने बित्तिकै चुनावी चर्चा भइरहेको छ । हाल जताततै कहाँ कसले बाजी मार्ला भन्ने चर्चा त हुन्छ नै । योसँगै बागमती प्रदेशमा अबको मुख्यमन्त्री को होलान् भन्ने चर्चा भइरहेको छ । दलहरूले अहिले नै मुख्यमन्त्रीको रूपमा कसैलाई अघि नसारे पनि केही उम्मेदवारले मुख्यमन्त्रीको दाबी गर्दै भोट माग्न थालेका छन् । चुनाव प्रचार-प्रसारमा सक्रिय नेपाली काङ्ग्रेसका महासमिति सदस्य फैसिंह तामाङले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको रूपमा हेरिएको बताए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तामाङ संविधानसभा सदस्य, प्रतिनिधिसभाको समानुपातिक सांसद भइसकेकाले यसपटक बागमतीको मुख्यमन्त्रीका सशक्त उम्मेदवारको रूपमा रहेको उनले बताए ।

नेकपा एमालेका युवा नेता एवम् बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ । एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र भएकाले एमालेको पक्षमा चुनावी परिणाम आए पाण्डे मुख्यमन्त्री हुनेमा एमाले नुवाकोट ढुक्क रहेको छ । मुख्यमन्त्रीको रूपमा प्रस्तावित पाण्डे प्रदेशमा चुनाव लड्ने सिनियर नेतामध्ये एक हुन् । यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्रीपछिको दोस्रो तहको नेताका रूपमा प्रमुख सचेतक र मन्त्री भई जिम्मेवारी निर्वाह गरिसकेका पाण्डेले भावी मुख्यमन्त्री दाबी गर्नु स्वाभाविक रहेको नुवाकोट जिल्ला कमिटीका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले बताए । पाण्डेले पनि बागमती सरकारको दोस्रो तहको नेताको रूपमा जिम्मेवारी सम्हालिसकेको अनुभव भएकाले मुख्यमन्त्रीको दाबी रहेको बताए ।