+
Search

ताजा अपडेट +

पपुलर +

पहिलोपटक भोट हाल्दै कैदीबन्दी नुवाकोटका २४ कैदीबन्दीले मतदान गर्न पाउने

पहिलोपटक भोट हाल्दै कैदीबन्दी नुवाकोटका २४ कैदीबन्दीले मतदान गर्न पाउने
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नेपालको संविधान, २०७२ ले कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने कानुनी व्यवस्था गरेको भए पनि गत ०७४ को प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले त्यसबेला तयारी नगरेकाले मतदान गर्नबाट कैदीबन्दी वञ्चित भएका थिए । यसपटक भने देशभरका कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

देशभर ७४ वटा कारागार रहेका छन् । कारागारका कैदीबन्दीले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो मन परेको पार्टीलाई मतदान गर्न पाउने भएका छन् । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुन् । नुवाकोट जिल्ला कारागारमा रहेका २४ जना कैदीबन्दीले भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रको रूपमा स्वीकृति दिएपछि उनीहरूले मतदान गर्न पाउने भएका हुन् । कारागार प्रमुख गंगालाल गिरीका अनुसार मतदाता नामावलीमा नाम भएका ३५ जना कैदीबन्दीको सूची पठाइएकोमा निर्वाचन कार्यालयबाट २४ जनाको मात्र अस्थायी मतदाताको सूचीमा दर्ता भएर आएको हो । कारागारमा एक सय ६६ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १६ जना महिला र एक सय ५० जना पुरुष छन् । यसअघि ०७० सालको निर्वाचनमा पनि कैदीबन्दीले मतदान गर्न पाएका थिए भने ०७४ सालको निर्वाचनमा उनीहरू मतदान गर्नबाट वञ्चित भएका थिए । यसपटक उक्त कारागारमा तीन महिला र २१ जना पुरुष भोट हाल्न पाउने छन् । उनीहरूले प्रतिनिधिसभा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए । प्रदेश सभाको समानुपातिकतर्फ भने कैदीबन्दीले भोट हाल्न नपाउने कार्यालयले जनाएको छ । यससँगै निर्वाचनमा खटिएका कर्मचारीले समेत आफू खटिएको मतदान केन्द्रबाट भोट दिन पाउने भएका छन् । नुवाकोटमा दुई हजार तीन सय चारजना कर्मचारी निर्वाचनका लागि परिचालन गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नुवाकोटमा अस्थायी मतदान केन्द्रको रूपमा जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयभित्र अस्थायी मतदाताका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीले सङ्घीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउनेछन् । नुवाकोटमा सङ्घीय संसद्को दुई र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र रहेका छ । यहाँ कुल दुई लाख ३९ हजार सात सय २६ जना मतदाता छन् । नुवाकोटमा एक सय ३२ मतदानस्थल र दुई सय ८८ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह