विदुर, आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार कायम रहेका नुवाकोटका चारजनाले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।
मतदाता नामावलीमा नाम रहेको क्षेत्र छाडेर अन्य क्षेत्रबाट उम्मेदवार भएका प्रतिनिधिसभा सदस्यका दुईजना र प्रदेश सभा सदस्यका दुईजना उम्मेदवारले आफ्नै क्षेत्रबाट मतदान गर्न नपाउने अवस्था रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशमान बाटाकाङ्क्षीले आफैँलाई मतदान गर्न पाउनेछैनन् । मतदाता नामावली उनको भक्तपुर नगरपालिका-१० मा रहेको छ । त्यसैगरी, सोही पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र न (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार काशीलाल डङ्गोलले पनि मतदान गर्न पाउनेछैनन् । उनको मतदाता नामावली काठमाडौंको टोखा नगरपालिकामा रहेको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमनविक्रम पाण्डेले पनि आफैँलाई मतदान गर्न पाउनेछैनन् । उनको मतदाता नामावली ललितपुर नगरपालिका-२ सानेपा रहेको छ । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार दर्ता गराएका, तर गठबन्धनको अनुरोधमा हाल उम्मेदवारी निष्क्रिय बनाइएका राजेन्द्रप्रकाश लोहनीले उम्मेदवारी दर्ता गराएका निर्वाचन क्षेत्रबाट मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभाको क्षेत्र नम्बर १ को शिवपुरी गाउँपालिका-८ को थानापतिमा रहेको छ ।