नुवाकोटका ५२ मतदानस्थल अति संवेदनशील

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:२३

विदुर, आइतबार हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटको एक सय ३२ मतदानस्थलमध्ये ५२ मतदानस्थललाई अति संवेदनशीलका रूपमा जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेको छ । निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन जिल्ला सुरक्षा समितिले मतदानस्थलको वर्गीकरण गरेर निर्वाचनलक्षित सुरक्षा थालेको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षालक्षित मतदानका लागि कायम केन्द्र र मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेको छ । जिल्लाको एक सय ३२ मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर सोहीअनुसारको सुरक्षा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । ‘मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरेर सुरक्षा बढाउने तथा सतर्कता अपनाउने गरी काम गरिएको छ,’ उनले भने, ‘विगतको राजनीतिक अवस्था मध्यनजर गरेर निर्वाचनलक्षित सुरक्षा योजना बनाएका छौँ ।’ जिल्लाको कायम मतदान केन्द्रमध्ये ५२ अति संवेदनशील, ५७ संवेदनशील र ३२ सामान्य वर्गीकरण गरिएको छ । मतदान केन्द्र तथा मतदानस्थलको विगतको राजनीतिक अवस्था, सुरक्षा चुनौतीलगायत आधारमा संवेदनशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरणको आधारमा सुरक्षा सतर्कता बढाउने योजना बनाइएकोसमेत प्रजिअ रिसालले बताए । उनका अनुसार निर्वाचनलक्षित सुुरक्षा योजनाअन्तर्गत मतदानस्थल र मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट वर्गीकरण गरेर प्रबन्ध मिलाइएको छ ।

मतदानस्थलमा म्यादी प्रहरीबाहेक जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेराको सुरक्षा-व्यवस्था कायम रहेको छ । जिल्लामा निर्वाचन बहिष्कार गर्ने पार्टी तथा समूहका अवाञ्छित गतिविधि पनि फाट्टफुट्ट देखिन थालेको छ । प्रतिनिधिसभाको दुई र प्रदेश सभाको चार निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लामा संवेदनशील रूपमा लिइएको मतदानस्थललाई नेपाली प्रहरीले एक साता अघिदेखि नै निगरानी गरिरहेको छ ।