आमाछोरीको हत्यारा प्रहरीको खोरमा

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:३५

समुन्द्रटार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भँगेरीमा सोमबार साँझ भएको आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियार खुर्पा बोकेर त्यसतर्फ गएको, घटनास्थलमा उनले बोकेको खुर्पा र उनको चप्पल भेटिएको थियो ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाडौंतर्फ जाने जङ्गलबाट मंगलबार बिहानको करिब २ बजे पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याइएको छ । उनलाई मंगलबार नै नुवाकोट जिल्ला अदालतमा उपस्थित गराई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरीले पक्राउ पुर्जी लिएको छ । हत्या अभियोग लागेका व्यक्तिको शरीरभरि रगत रहेकाले उनीलाई कर्तव्य ज्यान मुद्दाको अभियोगमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले अदालतबाट धुनुवा पक्राउ पुर्जी लिन रगताम्य भएको उनको शरीरसहित नै अदालतमा उपस्थित गराएको थियो । ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएकाले उक्त रोगसम्बन्धी औषधि सेवन गर्दै आएको भनिएको छ । तर, उनले व्यक्तिगत रिसइबीको कारण घटना घटाएको हुन सक्ने अनुमान प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती व्यक्ति र केशव खतिवडाबीच केही समयदेखि मनमुटावसमेत रहेकाले उनले केशवकी श्रीमती सम्झना र उनकी छोरी कृष्टिनाको हत्या योजना बनाएको पनि हुन सक्ने स्थानीयले बताएका छन् ।

२० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको सोमबार साँझ करिब ६ बजेतिर हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ सात बजे भेटिएको थियो ।