धादिङका ५४ समानुपातिकतर्फका उम्मेदवार भोट माग्दै

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:४१
  • राजेन्द्र बस्नेत

धादिङ (गजुरी), धादिङ जिल्लाबाट दोस्रो प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा साना-ठूला दलबाट समानुपातिकतर्फ ५४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । ५४ जना उम्मेदवार आफ्नो दलको चुनाव चिह्नमा भोट माग्न व्यस्त छन् । महिला, दलित, जनजाति, अल्पसङ्ख्यक र पिछडा वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवम् कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन संविधानअनुसार मिश्रित (प्रत्यक्ष र समानुपातिक) निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणलीमा लक्षित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न कुल सदस्य सङ्ख्याको ४० प्रतिशत समानुपातिक प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन हुँदै आएको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको कुल दुई ७५ सदस्यमध्ये सदस्य एक सय ६५ सदस्य प्रत्यक्ष र एक सय १० सदस्य समानुपातिक र प्रदेश सभा सदस्य, तीन सय ३० सदस्य प्रत्यक्ष र दुई सय २० सदस्य समानुपातिकबाट निर्वाचित हुनेछन् । खसेको मतको १० प्रतिशत प्राप्त गर्ने दलले मात्र समानुपातिक मतको सदुपयोग गर्न पाउने व्यवस्था रहेको छ । निर्वाचन आयोगले कात्तिक ९ गते प्रकाशित गरेको अन्तिम बन्दसूचीमा धादिङबाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलले १७ जना र प्रदेश सभा सदस्यका लागि विभिन्न दलले ३७ जनाको नामावली रहेको छ । प्रकाशित बन्दसूचीअनुसार बागमती प्रदेश सभा सदस्य (समानुपातिक) का लागि १९ दलले ३७ जना र प्रतिनिधिसभा सदस्य (समानुपातिक) का लागि १० दलले १७ जनाको नाम अन्तिम बन्दसूचीमा समावेश गरेको पाइएको छ । बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवारजस्तै गरी म समानुपातिकको उम्मेदवार हुँ । समानुपातिकको भोट मलाई भन्दै सामाजिक सञ्जाल र घरदलो तथा अन्य कार्यक्रम गरी मागिरहेका छन् । तर, समानुपातिक प्रणालीअनुसार पार्टीलाई भोट माग्नुपर्ने हो ।
नेपाली काङ्ग्रेस (बिपी)ले जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य कल्पना अधिकारी, कमला शाह (तामाङ) र शर्मिला तामाङलाई बन्दसूचीमा राखेको छ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश कमिटी सदस्य नीर खरेल, केन्द्रीय सदस्य इन्दिरा ढुङ्गाना, प्रदेश सदस्य मायादेवी शर्मा र सीता ढुङ्गानालाई बन्दसूचीमा राखेको छ । नेकपा एमालेले प्रदेश कमिटी सदस्य रामहरि अधिकारी र उमा सिम्खडालाई बन्दसूचीमा राखेको छ । नेपाली काङ्ग्रेसले शान्ताकुमारी तामाङ, शिवराज अधिकारी र गोपाल विश्वकर्मालाई बन्दसूचीमा राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वमन्त्री ठाकुरप्रसाद शर्मालाई बन्दसूचीमा राखेको छ । एकल चिह्न हँसिया-हथौडा लिएकाले सङ्गीता कँडेल (दीपा) सिर्जना रिजाल नेपाल, समेम्बले तामाङ र नारायणप्रसाद लामिछानेलाई बन्दसूचीमा राखेको छ । एकल चिह्न बच्चा काखमा लिएका आमा लिएकाले राजु भुजेल, सन्ध्या प्रजा, देवी उपरकोटीलाई बन्दसूचीमा राखेका छन् ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सोमकुमारी अधिकारीलाई बन्दसूचीमा राखेको छ । राष्ट्रिय समाजवादी पार्टीले श्रीराम अधिकारी, दुर्गाकुमारी अधिकारीलाई बन्द सूचीमा राखेको छ । राप्रपा नेपालले नीरबहादुर श्रेष्ठलाई बन्द सूचीमा राखेको छ । राष्ट्रिय नागरिक पार्टीले बुद्धिबहादुर गुरुङ, पवित्रा बराम श्रेष्ठ, सुकुमाया तामाङ पाख्रिन, सानुमाया चेपाङलाई बन्दसूचीमा राखेको छ । मङ्गोल नेसनल अर्गनाइजेसनले राजेन्द्र तामाङलाई बन्दसूचीमा राखेको छ । नेपाल सङ्घीय समाजवादी पार्टीले सुजाता मगर ढकाललाई बन्द सूचीमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले सुशीला थापा र हेडबहादुर खतिवडालाई बन्दसूचीमा राखेको छ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तनले गणेश थापालाई बन्दसूचीमा राखेको छ । जनसमाजवादी पार्टी नेपालले राजन मगरलाई बन्दसूचीमा राखेको छ । जनता समाजवादी पार्टी नेपालले मेनुका तामाङ र चञ्चला पराजुलीलाई बन्दसूचीमा राखेको छ । यसैगरी जनजागरण पार्टी नेपालले विमला खातीलाई बन्दसूचीमा राखेको छ ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्यमा ठूला राजनीतिक दल एमाले, नेपाली काङ्ग्रेस र एकल चुनाव चिह्न हँसिया-हथौडा लिएकाले यस जिल्लाबाट समानुपातिकमा एकजनाको पनि नाम बन्दसूचीमा राखेको छैन । नेकपा एकीकृत समाजवादीले उपमहासचिव एवम् पूर्वमन्त्री गंगालाल तुलाधर र जिल्ला पार्टी अध्यक्ष शिवराज कँडेललाई बन्दसूचीमा राखेको छ । राप्रपाले पूर्वमन्त्री बुद्धिमान तामाङ, विना लामा र अम्मर परियारलाई बन्दसूचीमा राखेको छ । त्यसैगरी नेपाली काङ्ग्रेस (बिपी)ले श्यमा मग्रातीलाई बन्दसूचीमा राखेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केशवराज अधिकारीलाई बन्दसूचीमा राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई बन्दसूचीमा राखेको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालले सुभद्रा अधिकारीलाई बन्दसूचीमा राखेको छ । त्यसैगरी, राष्ट्रिय नागरिक पार्र्टीले सुकबहादुर गुरुङ, ध्वजबहादुर पुलामीमगर, मनीष पुलामीमगरलाई बन्दसूचीमा राखेको छ । नेपाल जनता दलले रघु परियारलाई बन्दसूचीमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले सीता सामरीलाई बन्दसूचीमा राखेको छ । त्यसैगरी, जनसमाजवादी नेपालले सनम लामा, कल्पना बसेल र रमेश बसेललाई बन्दसूचीमा राखेको छ ।