आज राती १२ बजेसम्म निर्वाचन गतिविधी गर्न नपाईने

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १३:०५

विदुर, आईतबार हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचार-प्रसार र चुनावी गतिविधी आज राती १२ बजेसम्म गर्न पाईने छैन । आसान्न निर्वाचनअघि ४८ घण्टाको ‘स्थिर समय’ मा प्रचार-प्रसारलगायत कुनै पनि गतिविधी गर्न नपाईने भएको छ । अघिल्ला निर्वाचनमा भने आयोगले सो समयलाई ‘मौन अवधि’ भन्ने गरेको थियो ।

निर्वाचन आयोग आयुक्त रामप्रसाद भण्डारीकानुसार आगामी ४ मंसिरको ४८ घण्टाअघिको समय ‘स्थिर’ मानिने छ । सो समय राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचार–प्रसार’ लगायत गतिविधी गर्न पाउने छैनन् । १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित गतिविधीमा रोक लगाईएको छ । ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन, सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ आयुक्त भण्डारीले भने । सो समयलाई विगतमा ‘मौन अवधि’ भन्ने गरिएपनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ सम्बोधन गर्न उचित हुने आयुक्त भण्डारी बताउँछन् । उनका अनुसार आज मंसिर १ गते राति १२ बजेबाट निर्वाचन प्रचार-प्रसार सम्बन्धी सम्पूर्ण काम निषेध हुन्छ । त्यो समय कुनै पनि प्रकारको ‘प्रचार-प्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भन्न’ पाइँदैन । सो समयभित्र कसैले प्रचार–प्रसार गरेको पाईए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ आयोगले जनाएको छ ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरेको छ । आयोगकानुसार मतदानका दिन केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य ब्यक्तिले सलाई, लाईटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा निषेधित वस्तु लैजान पाउने छैनन् । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम निर्देशन गरिएको छ । मतदाता वा अन्य ब्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिईआएको पाईएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाईटर, क्यामेरा, मोबाइल जस्ता वस्तु लिईआएमा मतदान केन्द्र प्रवेश बिन्दुमा राख्ने ब्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर ‘निज’ लाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिईने भएको छ । प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य ब्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई सोबारे जानकारी गराउन आयोगले निर्देशन गरेको हो ।