दललाई सच्चिने अन्तिम मौका

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार ११:५७

बहुप्रतिक्षित प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन आईतबार सम्पन्न भएको छ । केही छिटफुट घटना बाहेक तुलनात्मकरूपमा निर्वाचन शान्तिपूर्ण सम्पन्न भयो । निर्वाचनमा जुन मात्रामा मत खस्ने अपेक्षा गरिएको थियो त्यो खस्न सकेन । मत नखस्नु भनेको जनतामा निर्वाचन प्रणाली र दलप्रतिको वितृष्णा भएको मान्न सकिन्छ ।

पछिल्ला वर्ष राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । केही प्रमुख दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लिन छन् । यसले गर्दा जनतामा एक किसिमको निरासा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ । निर्वाचनमा सामदाम दण्ड भेदको अपनाएर शासनसत्तामा गएकाले सबैभन्दा धेरे भ्रष्टाचार गर्दा जनताको जनजिविका कष्टकर बन्दै गएको छ । अहिले पनि सत्तामा रहेका अधिकांश ब्यक्ति भ्रष्टाचारमा चुर्लुम्म डुब्दै आईरहेका छन् । यसो त विगतमा सत्तामा रहेर मन्त्री भएका पनि केही अपवाद छोडेर धेरै जना भ्रष्टाचारमा लिप्त भएकै हुन् । अहिले बिडम्वना तिनै ब्यक्तिले ठूलठूला नैतिकता र आर्दशको कुरा गर्दै मतदातालाई प्रभावित पार्न तछाड-मछाड गरिरहेका थिए ।

विगतमा भ्रष्टाचारमा लिप्त भएका कयौं ब्यक्ति फेरी जनताको घरदैलोमा मत माग्न आए । तर, जनताले उनीहरूलाई खासै विश्वास गर्न नसकेको पाईयो । अहिले पनि निर्वाचन जित्न केही पक्षले पैसाको खोलो बगायो जसका कारण ती पक्षले केही मात्रामा निर्वाचन आफ्नो पक्षमा ल्याउन सफल पनि भएको देखिन्छ । यद्यपि, निर्वाचनको परिणाम आउन बाँकी छ तर निर्वाचनमा खसेको न्युन मतका कारण दल असफल बन्दै गएको पुष्टि हुन्छ । निर्वाचनको दिन धेरै मतदाताको स्वतन्त्र पार्टीप्रतिको आकर्षणले प्रमुख दललाई ठूलो चुनौती हुने निश्चित छ । जनताले दललाई सच्चिन मौका दिएका छन् । यसो त गत स्थानीय चुनावमा पनि जनताले प्रमुख दललाई सच्चिनका लागि मौका दिएका थिए तर उनीहरूले जनताको मतको अपमान गरी सच्चिनेतर्फ कुनै ध्यान नै दिएनन् । जनताले अब सधैं जसो भ्रष्टाचारी, दलाल र तस्करलाई भोट दिने छैनन् । प्रमुख दल तिनका नेताले हामीले जे गर्दा पनि ठिक हुन्छ भन्ने जुन भ्रम पालेका थिए अब ती भ्रमबाट उनीहरू मुक्त भएर नसच्चिने हो भने अहिलेका प्रमुख दल एकादेशका कथा जस्तै हुने निश्चित छ । विगतदेखि नै दलकै आवरणमा भ्रष्टाचार गर्ने र दलाली गर्नेहरू अत्याधिक भएकाले जनताले चिनेर फाल्नुपर्छ । आईतबार भएको निर्वाचनमा यसरी केही संकेत देखियो ।

अहिले सत्ताधारी गठबन्धनको नाममा जनता समक्ष गएर जुनसुकै हालतमा फेरी चुनाव जितेर सत्ताको चास्नीमा लुटुपुटु गर्ने दाउमा थिए तर जनताले उनीहरूको दादागिरीलाई अन्त गर्न सके वा सकेनन् ? यसको टुंगो निर्वाचन परिणामले नै गराउने छ । अहिलेका शासकलाई जनताको तमामखाले समस्यासँग कुनै चासो छैन । कसरी हुन्छ चुनाव जित्ने र भोलीका दिनमा सत्तामा गएर अकुत सम्पत्ति कुम्लाउने ध्याउन्नमा रहेका छन् उनीहरू । वर्तमान सरकारले डेढ वर्षदेखि जनताको हित हुने र देखिने खालका एउटा पनि काम गर्न सकेको थिएन । त्यसैले पनि यो सरकार र यसमा रहेका दल तथा नेतृत्वलाई जनताले सजाय दिनैपथ्र्यों । तर जुनरूपमा सजाय दिनुपथ्र्यों त्यो रूपमा दिन नसकेका हुन् कि जस्तो देखिन्छ । सरकारमा रहेकाहरू आम जनताको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारलगायतका महत्वपूर्ण समस्या समाधान गर्ने विषयमा कहिल्यै पनि चिन्तित देखिएनन् । त्यसैले पनि निर्वाचनमा जनताले उनीहरूलाई सजाय दिने मौकालाई सदुपयोग गरे कि गरेनन् आउने परिणामले देखाउने छ ।

यसपालीको निर्वाचन लोकतान्त्रिक नेपालको लोकतान्त्रिक अभ्यासको निरन्तरता नै हो । मतदानको आफ्नो अधिकारलाई सदुपयोग गर्न मतदातामा रूचि नलाग्नु राजनीतिक वितृष्णाको हो । पाँच वर्षमा संसदमा देखिएका अराजनीतिक गतिविधीको उपज मात्रै होइन, जनताले आफ्नो जीवनमा देख्न चाहेको परिवर्तन कत्ति नभएको महशुस गर्नु हो । गएका पाँच वर्ष जनताका प्रतिनिधीले संसदमा निर्वाह गरेको भुमिका र सरकारले गरेका कामबाट जनता खास खुशी हुन सकेका थिएनन् । त्यसको परिणाम पनि निर्वाचनप्रति पहिलाकोझैं उत्साह नभएको हुनुपर्छ । यसपालीको निर्वाचनबाट पनि उहीँ पुरानै दल र तिनका नेता फेरी कुर्सीकै खेलका लागि जाने जनताले देखे । जनतामा पाँच वर्षमा बढेको निरासा र वितृष्णाप्रति दलहरूले बेवास्था गरेका चुनावी उम्मेदवार र तिनका प्रतिबद्धताबाट प्रष्ट भए । पटक-पटक उहीँ वाचा प्रतिबद्धता अनि पटक-पटक उहीँ र उस्तै अनुहारका उम्मेदवारबाट जनतामा आशा जाग्न सकेन ।

अब त केही हुन्छ है भन्ने आशा जगाउन दलहरू विफल हुँदा नै मतदानमा जनसहभागिता कम भएको छ । चुनावी माहोलका बिच ‘‘नो नट अगेन’’ जस्ता अभियान सामाजिक सञ्जालमा चल्नुबाट दलहरूलाई पूर्वसंकेत मिलेको थियो । तर राजनीतिको जमिन्दारी आफु बाहेकको हुन सक्दैन भन्ने भ्रम र अहंकारबाट ग्रसित दलहरूले आफुलाई सुधार्न पटक्कै चाहेनन् ।