रसुवामा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार १२:०८
  • सरस्वती न्यौपाने

धुन्चे, एक प्रतिनिधीसभा र दुई प्रदेशसभा क्षेत्र रहेको रसुवामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । रसुवामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबिच चुनावी गठबन्धन रहेको थियो ।

मंगलबार साँझ ८ बजे प्राप्त निर्वाचनको अन्तिम मत परिणामअनुसार प्रतिनिधीसभा सदस्यमा १८ हजार २ सय ३५ मत प्राप्त गरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङलाई ९ हजार ६ सय २१ मतले पछि पार्दै विजयी भएका हुन् । तामाङले ८ हजार ६ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । वि.सं.२०७४ सालको प्रतिनिधीसभा सदस्य विजय हासिल गरेका आचार्य यसपटक भएको प्रतिनिधीसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए । आचार्यले संविधानसभा सदस्य समेत रहेका नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङलाई ९ हजार ६ सय २१ मतले पछि पार्दै विजय प्राप्त गर्न सफल हुनुभएको हो । त्यस्तै, राप्रपाका उम्मेदवार टिकाप्रसाद देवकोटाले ७५, नेमकिपाका उम्मेदवार रामेश्वर बाँटीले ९, मंगोल अग्रनाईजेशन पार्टीका विकास तामाङले २ सय १०, जनसमाज पार्टीका उम्मेदवार सिर्जना सुनुवारले १३, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिननाथ देवकोटाले १ सय ६५ र स्वतन्त्र उम्मेदवार कर्सावाङ्दी तामाङले ७, रामशरण पौडेलले २८, लिलाबहादुर न्यौपानेले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रसुवामा कुल मतदाता ३९ हजार ४ सय ५९ जना रहेकोमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा २८ हजार २ सय ११ जनाले मतदान गरेका थिए । कुल मतदातामध्ये ७३ प्रतिशतले मतदान गरेको निर्वाचनमा ७ सय ८४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र नम्बर ‘१’ (क) मा नेपाली काँग्रेसका उम्मेदवार प्रभात तामाङ पुनः विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार कुलप्रसाद भट्टलाई ३ हजार ४ सय १४ मतले पछि पार्दै ८ हजार १ सय ८६ मतसहित तामाङ पुनः विजय भएका हुन् । एमालेका कुलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, राप्रपाका उम्मेदवार महेश डंगोलको ९५, मादल चिन्ह बाबुकाजी माकजुको २३, बज्र चिन्न पाल्देन वाङ्दी तामाङको १७, भाले चिन्ह जितमान तामाङको १ सय ३८, चारतारे कामी थोक्राले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ सालको प्रदेशसभा सदस्य विजय हासिल गरेका तामाङ यसपटकको प्रदेशसभा सदस्यमा पनि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएर पुनः विजयी भएका छन् । अघिल्लो वाग्मती प्रदेशसभामा तामाङ नेपाली काँग्रेस संसदिय दलको प्रबक्ता समेत थिए ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र नम्बर ‘२’ (ख) मा ईन्द्रप्रसाद गोतामे विजयी भएका छन् । मंगलबार राती साँढे ११ बजे प्राप्त मत परिणामअनुसार ८ हजार ५ सय ३३ मत प्राप्त गरी माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य गोतामेले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार तेम्ब्रेल तामाङलाई ३ हजार ६ सय ४९ मतले पछि पार्दै विजयी भएका हुन् । तामाङले ४ हजार ८ सय ८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए । यस्तै नेपाली काँग्रेस पार्टी (वि.पी) का उम्मेदवार शारदाकुमार न्यौपानेले २ सय ३५, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तुल्सीराम ग्वाछाले १९, राप्रपाका उम्मेदवार हरिप्रसाद घिमिरेले २ सय ७७, मंगोल अग्रनाईजेशन पार्टीका वाङ्दे घलेले १ सय ६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए । रसुवामा कुल मतदाता ३९ हजार ४ सय ५९ जना रहेकोमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्बर ‘२’ (ख) मा १४ हजार ५ सय ५८ मत खसेकोमा १४ हजार २ सयमा सदर भएको थियो भने ३ सय ५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रदेशसभा सदस्य ‘ख’ मा निर्वाचित गोतामे सशस्त्र जनआन्दोलनका युद्ध कमाण्डरको रुपमा भई काम गरिसकेका र हाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका छन् ।