अव्यवस्थित गुजिल्टिएका तारले विदुरको स्वरूप कुरूप

  • त्रिशूली प्रवाह
  • १५ मंसिर २०७९, बिहीबार १२:१४
  • सुनील श्रेष्ठ

विदुर, नुवाकोट जिल्ला सधैँ व्यस्त रहने त्रिदेशीय राजमार्गअन्तर्गत विदुर नगरपालिकाको सहरी सुन्दरतालाई अव्यवस्थित रूपले टाँगिएको सार्वजनिक बत्ती, केबुल र इन्टरनेट सेवा प्रदायकका तारले कुरूप बनाएको छ । त्यति मात्र होइन, यी तारबाट मानवीय तथा भौतिक क्षतिसमेत हुने गरेको छ ।

नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका खम्बामा अव्यवस्थित रूपमा टाँगिएको तार देख्दा नै मनै कुरूप भएको भान हुन्छ । माकुराले जालो लगाएजस्तै तारको जालो देखिन्छ । खम्बामा मात्र होइन केही स्थानमा भुइँमा पनि त्यति नै मात्रामा छरपष्ट छन् तार । तार व्यवस्थापनमा विदुर नगरपालिका र अन्य सरकारी निकाय मौन रहेका छन् । नेपाल टेलिकम र विद्युत् प्राधिकरणका खम्बामा सार्वजनिक बत्ती, केबुल र इन्टरनेट सेवा प्रदायकले आफूखुसी सहज हुने मात्र गरी तार टाँगेका छन् । तर, कुनै पनि निकायले तार व्यवस्थित गरेका छैनन् । तारमाथि तार, कतै गुजुल्टा, कतै तुर्लुङ्ग झुन्डिएको दृश्यले सदरमुकाम क्षेत्रलाई कुरूप बनाएको छ । सदरमुकाम विदुर चोक, प्रशासन, प्रहरी, अदालत, मालपोत कार्यालय जाने सडकखण्ड, विदुर नगरपालिकाको नयाँ बन्दै गरिरहेको भवनअगाडि र सडकमार्गलगायतका क्षेत्रमा पनि असरल्ल तार देखिन्छन् । यस्ता तार जिल्लाकै व्यापारिक क्षेत्र बट्टारबजार, त्रिशूली, ढुङ्गेलगायतका क्षेत्रमा पनि उस्तै हविगत रहेको छ । सरकारले भूमिगत रूपमा व्यवस्थापन गर्ने भनिए तापनि नुवाकोटमा भने कार्यान्वयन हुन सकेको छैन । अहिले आएको नेपाल टेलिकमको फाइबर नेट, एनसेलका केही भूमिगत भए तापनि अन्य सेवाप्रदायकको भने लापरबाही जारी छ । नेपाल टेलिकमले फाइबर नेटको सुविधा प्रदान गरे तापनि यसअघि टेलिफोन सेवाका लागि टाँगिएको तार झिकेका छैनन् ।

सडकमा हिलो र धुलो सहँदै आएका नगरवासी सडकमाथिको तारले झन् आजित छन् । दिनहुँ ट्रकमा डोजर वा अन्य सर–सामान ओसार–पसार गर्ने क्रममा तुर्लुङ्ग झुन्डिएका तार चुडाइँ जाने गरेको छ । स्थानीयले देखेर रोके मात्र ट्रक रोक्ने गरेको छ । कति क्षेत्रमा मानवीय क्षतिसमेत भएको छ । विद्युत्को पोलमा नै तार गुजुल्टिएको तथा बेलाबेलामा आगो लाग्ने तथा अन्य दुर्घटना हुने गरेको छ । विगत केही समय पहिले विदुर चोकैमा पोलमा आगो लाग्दा विद्युत् प्रणालीमा नै समस्या आएको थियो । पर्यटकको सिजनमा समेत यस्ता उल्झनलाई समयमै सुल्झाउन नसके विदुर भित्रिने या रहने पर्यटकमा नराम्रो अमिट छाप पर्न जानेछ । नगरको सहरी विकास अवधारणलाई चुनौती मात्र नभई टड्कारो रूपमा देखिएको छ । बजारको सौन्दर्यीकरणको लागि सडक सुरक्षासहित तार व्यवस्थापन गर्न सके नगरकै सुन्दरता कायम रहन मद्दत पुग्ने थियो । सडक मापदण्ड कडाइका साथ लागू गर्न स्थानीय सरकारले नीतिगत निर्णय लिनुपर्ने देखिएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको सुरुवात विदुर नगरपालिका क्षेत्रमा अव्यवस्थित गुजुल्टिएका तारले देखाएको छ । धुलेसडक, साँघुरा चोक, अस्त-व्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त भएको नगरबासी कहिलेसम्म देख्न पाइने हो ?