तारजाली उद्योग सञ्चालनमा

  • त्रिशूली प्रवाह
  • १५ मंसिर २०७९, बिहीबार १२:१७

विदुर, नुवाकोट उद्योग सञ्चालनका लागि उपयुक्त क्षेत्र भए पनि उद्योगको सङ्ख्या न्यून रहेको छ । पछिल्लो समय भने उद्योग स्थापना हुने क्रम बढिरहेको छ ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँशी-रसुवागढी सडक योजना निर्माण सुरु भएसँगै जिल्लामा उद्योग व्यवसाय खुल्ने क्रम बढेको छ । चालू आवबाट विदुर नगरपालिका-१ सिमुटारमा इन्द्रायणी ग्याबिन बक्स प्रा.लि.ले तारजाली उत्पादन सुरु गरेको छ । यो उद्योग युवा उद्यमी सञ्जीव थपलियाले १० करोड लगानी गरेर २० रोपनी क्षेत्रफलमा सञ्चालन गरिरहेका छन् । उद्योगले ३५ जनाभन्दा बढीलाई रोजगारी दिइरहेको छ भने प्रत्येक दिन १५ सय घनमिटर तारजाली र हजार केजी चेनलिंक फ्रेस (कम्पाउन्ड जाली) उत्पादन गरिरहेको सञ्चालक थपलियाले जानकारी दिए । रसुवा-नुवाकोट-धादिङ जिल्ला नदी कटान तथा भूक्षय बढी हुने क्षेत्र भएकाले स्थानीय, सङ्घ र प्रदेश सरकारकोे नदी नियन्त्रणका लागि तटबन्द र भूक्षय नियन्त्रणका लागि धेरै योजना सञ्चालन भइरहेका छन् । व्यक्तिले पनि घर, टहरा, कम्पाउन्डवाललगायत भौतिक संरचना निर्माणका लागि तारजालीको माग भइरहेको छ । ग्रामीण क्षेत्रमा हुने सडक निर्माणलगायत अन्य कार्यमा समेत तारजालीको माग हुने गरेको छ ।

स्थानीय क्षेत्रमा सहित रसुवा, धादिङ र अन्य जिल्लामा पनि तारजाली र कम्पाउन्ड जालीको माग अत्यधिक रहेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन भइरहेको सञ्चालक थपलियाले बताए । जिल्लामा बागमती ग्याबिन बक्स प्रा.लि.ले विगत १० वर्षदेखि तारजाली उत्पादन गर्दै आइरहेको छ ।