धुन्चे, जलवायु परिवर्तनको असर र न्यूनीकरण विषयक चित्रकला प्रतियोगितामा रसुवा जिल्लाको धुन्चेमा रहेको हाइल्यान्ड आवासीय मावि प्रथम भएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको सहयोग तथा इसिमोड एवम् युनेस्को नामक अन्तर्राष्ट्रिय गैससको आयोजनामा मङ्सिर १२ गते धुन्चेमा भएको चित्रकलामा सहभागी कालिका हिमालय मावि कालिकास्थान, सेतीदेवी मावि राम्चे, कोमिन श्यामेवाङ्फेल मावि स्याफ्रुबेँसी एवम् रसुवा मावि धुन्चेमध्ये हाइल्यान्ड आवासीय मावि प्रथम भएको हो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पानी तथा हिउँ कम परिरहेको, हिमालमा थुप्रिएको हिमपात पग्लिँदै गएको, जलाशय क्षेत्रमा जलको चिसोपनमा कमी आउन थालेको, वनजङ्गल फँडानी हुँदै जाँदा भूक्षयको प्रकोप बढिरहेको समस्याजस्ता विविध विषयमा समेटिएको चित्र प्रस्तुत हुँदा विज्ञहरूको मूल्याङ्कनबाट निजी क्षेत्रबाट सञ्चालित हाइल्यान्ड माविका छात्र–छात्राले तयार गरेको चित्र समय सान्दर्भिक एवम् प्रस्तुतीकरण उत्कृष्ट ठहर भएको आयोजक संस्थाले जनाएको छ ।
जलवायु परिवर्तनको असर तथा न्यूनीकरणको सम्बन्धमा विज्ञको प्रतिवेदन तथा स्थानीयको सुझावका सम्बन्धमा इसिमोड र युनेस्कोले आयोजना गरेको जलवायु परिवर्तनको असरसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन रसुवा आएका नेपालका लागि नर्वेका राजदूत टोरोन ड्राम्डलले पुरस्कृत गरेका थिए । सो चित्रकलामा श्यामेवाङ्फेल माविका छात्रछात्रालाई द्वितीय, कालिका हिमालय माविलाई तृतीय र रसुवा मावि धुन्चे तथा राम्चे माविलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । जलवायु परिवर्तनसम्बन्धी विषयमा स्कुलका बालबालिकालाई चेतना जगाउने कार्यमा जागरण ल्याउने अभिप्रायले विद्यालयका छात्रछात्रालाई सहभागी गराइएको हो ।