+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यमा विजयीलाई प्रमाणपत्र वितरण

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विजयी उम्मेदवारलाई गत बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले प्रमाणपत्र वितरण गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रतिनिधिसभामा विजयी भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य, प्रदेश सभा क्षेत्र (क) मा विजयी नेपाली काङ्ग्रेसका नेता प्रभात तामाङ, प्रदेश सभा क्षेत्र (ख) मा विजयी नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे (जगतजंग)लाई मुख्य निर्वाचनको कार्यालयले विजयी भएको प्रमाणपत्र प्रदान गरेको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै क्षेत्रमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी सम्मिलित वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई नौ हजार ६ सय २१ मतको फराकिलो अन्तरले पराजित गरेर विजयी भएका छन् । प्राप्त अन्तिम मत परिणामअनुसार आचार्यले १८ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी तामाङले आठ हजार ६ सय १४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, जिल्लाको प्रदेश सभा क्षेत्र (क) मा नेपाली काङ्ग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । प्राप्त अन्तिम मत परिणामअनुसार प्रदेशको १३ हजार पाँच सय १८ मत गणना गर्दा तामाङले आठ हजार एक सय ८६ मत ल्याएर विजयी भएका छन् । तामाङका प्रतिद्वन्द्वी भट्टले चार हजार सात सय ४१ मत प्राप्त गरे । तामाङले तीन हजार चार सय ४५ मत बढी ल्याएर विजयी बने । त्यसैगरी, जिल्लाको प्रदेश सभा क्षेत्र (ख) मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे (जगतजंग) विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका तेम्ब्रेल तामाङलाई तीन हजार ६ सय ४९ मतान्तरले पराजित गर्दै गोतामे विजयी भएका हुन् । गोतामेले आठ हजार पाँच सय ३३ मत प्राप्त गर्दा तामाङले चार हजार आठ सय ८४ मत मात्र पाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह