नर्वेका राजदूत ड्रमडालद्वारा गोसाइँकुण्डमा वृक्षरोपण

  • त्रिशूली प्रवाह
  • १५ मंसिर २०७९, बिहीबार १२:३७

धुन्चे, रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको मिनी गोसाइँकुण्डमा नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रमडालले वृक्षरोपण गरेका छन् ।

जलवायु परिवर्तनले पारेको असरबारे पूर्वतयारीबारेको एकदिने अन्तक्र्रियाको अवसरमा रसुवाको धुन्चे आइपुगेको राजदूतसहितको टोली, गाउँपालिका अध्यक्ष कैसाङ तामाङसहित वडाध्यक्ष र सरोकारवालाले ५५ जातका बिरुवा रोपण गरेका थिए । जलवायु परिवर्तनले पारेको असरबारे पूर्वतयारी एकदिने अन्तक्र्रियाको अवसरमा जलवायु परिवर्तन त भयो यसको रोकथाम कसरी गर्ने, जलवायु परिवर्तन के भयो के गरेमा हुन्छ भन्ने विषयमा छलफल भएको थियो । लामटाङ राष्ट्रिय निकुञ्ज, इसिमोड, युएनइएससिओ नेपालको आयोजनामा निकुञ्जको कार्यालयमा भएको कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय संरक्षणकर्मीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा रसुवा मावि धुन्चे, हाइहाल्यान्ड मावि, राम्चे स्कुल, कोमिन श्यामेवाङफेल मावि स्याफ्रुबेँसीका विद्यार्थीले जलवायु परिवर्तनले पारेको असर पहिले र अहिलेको जलवायु कस्तो रहेको छ भन्ने विषय चित्रकलाद्वारा प्रस्तुत गरेका थिए । जलवायु परिवर्तनले पारेको असरबारे चित्र कोरेर हाइल्यान्ड मावि प्रथम, द्वितीय कोमिन श्यामेवाङफेल मावि र तृतीय कालिका हिमालयन मावि भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेलाई सो कार्यक्रममा प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।