दलको उर्दी मतदाताले टेरेनन्

  • त्रिशूली प्रवाह
  • १५ मंसिर २०७९, बिहीबार १२:४५

लोकतन्त्रका लागि निर्वाचन राम्रो सङ्केत हो । भर्खर ठूलो धनराशि खर्च गरेर प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विगतमा खसेजस्तै यसपालि पनि मतदाताले मत खसाले । यसपटक विगतको भन्दा फरक ढङ्गले मतदाताले प्रतिनिधि छनोट गरेको पाइयो ।

दलहरूका क्रियाकलाप र तिनको विगतको कामको मूल्याङ्कन गरेर विवेकसम्मत् ढङ्गमा मत खसालेको देखियो । महँगी र बेरोजगारीप्रति बेवास्ता गर्दै आफन्तप्रति चुर्लुम्म डुबेका दलका नेतालाई तह लगाउने कामसमेत गरे । यसपटकको निर्वाचनमा मतदाताले वयोवृद्ध र समयसापेक्ष नभएका नेताको स्थानमा नवयुवालाई रोजेका छन् । पुराना, स्थापित दल र तिनका उम्मेदवारलाई पाखा लगाइदिएका छन् । जनताले होसियारीपूर्वक मतदान गरेर पुराना दलहरूलाई खबरदारी पनि गरेका छन् । अबका दिनमा पनि दल र दलका नेताहरू सच्चिएनन् भने आगामी निर्वाचनमा दलहरूका लागि झन् सकसपूर्ण हुने सङ्केत जनताले दिएका छन् । यसपटकको निर्वाचनमार्फत मतदाताले दलहरूलाई कसैको रैती नभएको प्रस्ट सन्देश दिएका छन् । दलहरूले गत स्थानीय निर्वाचनलाई आधार मानेर गठबन्धन गरे । स्थानीय निर्वाचनमा आ-आफ्नो दलले पाएको मतलाई आधार मानेर दलहरूले गठबन्धन गरे । मतको हिसाब गरेर बसे । निर्वाचनपछिको परिणामले मत ट्रान्सफर भएको देखिंएन । मतदाताले कुनै पनि पार्टीको रैती होइनौँ भन्ने जवाफ मतदानबाट दिए । यसपालिको चुनावमा नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा नेपाली काङ्ग्रेसलाई ठूलो फाइदा भयो । केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपालले एकले अर्कालाई देखाइदिन्छु भन्दा मिहिनेतबिनै काङ्ग्रेस, सङ्घ र प्रदेश सभाका लागि धेरै सिट जित्न सफल भएको छ ।

नेताहरूप्रति जनता निकै असन्तुष्ट छन् भन्ने यसपालिको निर्वाचनमा प्रस्ट देखियो । ‘हाम्रो विकल्प छैन, जे गरे पनि हुन्छ’ भन्ने ठूला दलका शीर्ष नेताहरूलाई मतपरिणामले सुध्रने मौका दिएको छ । प्रजातन्त्र आएको तीन दशक हुँदा पनि नेताहरूले जनताको विषयमा सोच्न सकेनन् । निर्वाचनअघि ‘मेरा जनता’ भन्ने र निर्वाचनपछि नचिन्ने नेताहरूकै कारण यस्तो अवस्था आएको हो । यसपालिको निर्वाचनमा पहिलेको भन्दा धेरै कम मत खसेको थियो । खसेका मत पनि सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारले नै धेरै पाए । पैसा र बलले मात्र चुनाव जितिँदैन, चुनाव जित्नका लागि जनताको मन जित्नुपर्छ भन्ने सन्देश काठमाडौंको मत परिणामले देखाएको छ । काठमाडौंलाई आफ्नो विरासत मान्ने एमालेले एक सिटमा चित्त बुझाउनुपरेको छ भने कङ्ग्रेसले पाँच सिट पायो । चार सिट स्वतन्त्रले जिते । ‘जनता कसैको रैती होइनन्, सधैँ दबाउन सकिँदैन’ भन्ने सन्देश पनि यसपटकको निर्वाचनले दिएको छ । ‘नाम चलेका तथा यो क्षेत्र मेरो विरासत हो’ भन्ने नेताहरू पाखा लागेका छन् । जो जनताको पक्षमा छ, उसैले यसपालिको निर्वाचनमा सफलता पाएको छ ।

चुनाव जित्नकै लागि काङ्ग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो । तर, मतपरिणामले जनताले यो गठबन्धन स्विकारेनन् भन्ने सन्देश दिएको छ । मतदातालाई यसमा भोट हाल्नैपर्छ भनेर उर्दी जारी गरेर अब चल्दैन भन्नेमा नेताहरू सचेत हुनुपर्छ । नेताहरूले आफ्नो सत्ता यात्राका लागि गठबन्धन भने पनि जनताले स्वतन्त्रलाई नै चुनेका छन् । यो निकै ठूलो पाठ पनि हो । अब पनि नेताहरू नसच्चिने हो भने अर्को पाँच वर्षपछि नेताहरूलाई खोज्न टुकी बाल्नुपर्छ । एकले अर्कोलाई गाली गरेर आफ्नो स्वार्थ कहिलेसम्म पूरा गर्ने ? नेताले चुनाव हार्नु जे कारण देखाए पनि मुख्य हो जनभावनाको बेवास्ता गर्नु हो । अब यो कुरा नबुझी सुखै छैन । त्यसैले यो हारको समीक्षा गर्दै जनताको सेवामा लाग्ने प्रण गर्नु नै दलका नेताहरूलाई उपयुक्त हुनेछ ।