क्याम्पसले अदालतमा कागज पेश गर्न अाँलटाँल

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७९, आईतवार ११:१६


बट्टार, त्रिभुवन विश्व विद्यालयको सम्बन्धनमा सञ्चालित नुवाकोटको पहिलो सामुदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिको विवाद अदालतमा अड्किएको छ । अबैध सञ्चालक समितिको विवादित सम्पन्न क्याम्पससभाको विरूद्ध क्याम्पसका संस्थापक अध्यक्ष, क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका छन् । नौ महिनादेखि पेश्की सर्दै आएको उक्त मुद्दाको लागि अदालतले माग गरेको कागजात क्याम्पस प्रशासनले पेश नगर्दा मुद्दाको फौसलामा ढिलाई भईरहेको छ ।

क्याम्पसका सञ्चालक समितिका अध्यक्ष रामशरण प्याकुरेल र क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले २०७८ फागुन २ गते अबैध क्याम्पससभा खारेज गर्न रिट दर्ता गर्नुभएको थियो । २०७८ चैत्र २२ गते क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक बसन्तलाल श्रेष्ठले अबैध क्याम्पससभा र सोबाट बनेको अबैध सञ्चालक समिति खारेज गर्न माग राख्दै रिट दर्ता गर्नुभएको थियो । संस्थापक अध्यक्ष श्रेष्ठले क्याम्पसको २०७६/०२/०६, २०७६/१२/१८ र २०७८/१०/१९ गतेको सञ्चालक समितिको बैठकको निर्णय पुस्तिका अदालतमा झिकाउन समेत माग गर्नुभएको थियो । उक्त बैठक पुस्तिका झिकाउन अदालतले आदेश गरेपनि क्याम्पस प्रशासनले नौ महिनादेखि विभिन्न बहाना बनाउँदै उक्त बैठक पुस्तिका बुझाउन अाँलटाँल गरिरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहँदै गरेको अवस्थामा अदृश्य शक्तिको आँडमा अनधिकृत केही ब्यक्तिले क्याम्पसको आर्थिक स्रोत परिचालन गरी दुरूपयोग गरिरहेका छन् । अदालतमा मुद्दाको पेश्की र प्रतिउत्तर लगाउन क्याम्पसको खाताबाट ९ लाख भन्दा बढी खर्च गरिसकेको समेत मुद्दा दर्ता गर्ने पक्षले आरोप लगाएका छन् । अनधिकृतरूपले क्याम्पसको आर्थिक स्रोतमा ब्रहमलुट मच्चाउने समूहले आफु अनुकूलको क्याम्पस प्रमुख फेरबदल गरिरहेको छ । नौ महिनाको अवधिमा क्याम्पसमा जितेन्द्र अर्याल र सुकुमान डंगोल क्याम्पस प्रमुख भईसकेका छन् ।

क्याम्पसको बेथितीलाई समाधान गर्न स्थानीय सरकार, जनप्रतिनिधी, स्थानीय प्रशासन र राजनीतिक दलका नेताले टुलुटुली हेरिरहेको कारण अनधिकृत ब्यक्तिले प्रशय पाईरहेका छन् । कथित क्याम्पससभाबाट घोषित श्रीराम श्रेष्ठको समूहले अध्यक्षसहित मौजुदा विधान विपरीत गठन भएको सञ्चालक समितिले बेलकोटगढी नगरपालिका घर भएका कानुन ब्यवसायी हरिराम लामिछानेलाई ठेक्कामा मुद्दा लड्न जिम्मेवारी दिएपछि क्याम्पसको मुद्दा टुङ्ग्याउने भन्दा पनि लम्ब्याउन लागिपरेका छन् । सामुदायिक कलेजलाई आर्थिक रूपले धरासायी बनाउन सक्रिय समूहले क्याम्पसको स्रोतबाटै मुद्दा लडिरहेका छन् । मुद्दाको पेश्कीमा अदालतले माग गरेको कागजात क्याम्पसले पेश नगर्दा साउनदेखि मुद्दा सर्दै आईरहेको छ । सर्दै आएको मुद्दाको पेश्की मंसिर २८ गते तोकिएको छ । उक्त पेश्कीलाई सार्नको लागि कानुन ब्यवसायी लामिछाने लागिरहेका क्याम्पसका प्राध्यापकले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् । त्रिभुवन विश्व विद्यालयको सम्बन्धनमा सञ्चालन रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा विश्व विद्यालय अनुदान आयोगले दिने तयारीमा रहेको अनुदान समेत क्याम्पसको विवादले रोकिएको छ । त्रिविका कानुनी सल्लाहकार नारायण खनालले अदालतमा लिखित प्रतिउत्तर दिंदै श्रीराम श्रेष्ठ सञ्चालक समिति र उनको समूहले नियुक्ती गरेको क्याम्पस प्रमुख नचिन्ने र अबैधरूपमा सम्पन्न क्याम्पससभालाई मान्यता नदिने लिखितरूपमा अदालतमा पत्र पेश गरेका छन् ।